Headline

माल्दिभ्सबाट अब्दुल्लाहको मिसाइल । किन आक्रमक भए मिडियासँग ?

Published

on

नेपाल साफ च्याम्पियनसिपको ऐतिहासिक फाइनल पुगेसँगै मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माल्दिभ्सको राजधानी मालेबाट नेपालतर्फ एउटा मिसाइल प्रहार गरे ।

“साफ च्याम्पियनसिपको फाइनल नेपाली राष्ट्रिय टोलीका लागि मेरो अन्तिम हुनेछ । म यहाँबाट नेपाल नै जान्न ।”

अब्दुल्लाहले नेपालको जागिर छोड्ने घोषणा पहिलो पटक गरेका होइनन् । बुधबार उनले तेश्रो पटक यस्तो भनेका हुन् । यसअघि दुवै पटक उनले फेसबुक मार्फत आफू बाहिरिने घोषणा गरेका थिए ।

अब्दुल्लाहले राजीनामा देलान नदेलान त्यो आफ्नो ठाँउमा छ तर बुधबार उनले खेलपछिको पत्रकार सम्मेलनमा जुन आक्रमकता देखाए त्यो गम्भिर थियो । गम्भिर किन पनि भने उनी नेपालको ऐतिहासिक सफलतालाई सम्बोधन नगर्दै अन्य कतै बगिरहेका थिए ।

तर उनले गरेका धेरै कुराले उनलाई पछिल्लो केही दिन तनाव भएको भने स्पष्ट देखिन्छ । व्यवसायिक प्रशिक्षकले यस्ता तनाव सार्वजनिक स्थानमै छताछुल्ल पार्दैनन् । तर उनी अब्दुल्ला अल्मुताइरी हुन् । मन परेन भने परेन ।

“म कसैको नाम लिन चाहन्न तर यहाँ समाचार भन्दा पनि बिचार बिकाउने प्रयास भइरहेको छ । भारतसँगको खेलमा म्याच फिक्सिंग भएको कमेन्ट आउदा पनि खुशी हुने देखिए । केही पत्रकारहरुले मेरो नाममा पैसा कमाउन खोजिरहेका छन् । दे एण्ड मनि क्यान गो टु हेल  (उनीहरु र उनीहरुको पैसा भाँडमा गए हुन्छ) । उनीहरुलाई नै राष्ट्रिय टिमको नियन्त्रण लिन दिनुहोस । म पछिल्लो तीन दिन सुतेको पनि छैन । म रेस्ट गर्न चाहन्छु । त्यसैले मलाई अब कुनै प्रश्न नगर्नुहोला,” आक्रमक रुपमा अब्दुल्लाहले भने ।

“म मेरो आमासँग कुरा गर्न चाहन्छु, परिवारसँग कुरा गर्न चाहन्छु । अल्लाहले यस्तो नराम्रो मान्छेहरुसँग बदला लिनेछन् । मैले एक महिना अगाडी नै राजीनामा दिइसकेको हुँ । साफ च्याम्पियनसिपपछि मेरो राजीनामा लागु हुनेछ ।”

अब्दुल्लाहले आफू छोड्ने भनिरहँदा अबको योजनाका बिषयमा पनि कुरा गरेका थिए । “म साफ कपमा इतिहास बनाउछु । म यस्तो टिम बनाउछु जसले पुरै नेपाललाई गौरवान्वित बनाउनेछ । म एसिया कपको अर्को चरणमा टिमलाई पुर्याउछु,” उनले भनेका थिए ।

अब्दुल्लाहले आफू नेपालको प्रशिक्षक भएपछि साफ च्याम्पियनसिप नजित्ने हो भने राजीनामा दिने बताएका थिए । तर पछिल्लो केही समय उनी वरिपरि बिकसित घट्नाक्रम हेर्ने हो भने साफ नै जिते पनि अब्दुल्लाह नेपाल बस्न आफै पनि इच्छुक नरहेको देखिएको छ ।

Click to comment

Trending