तपाईको जीवनको सबैभन्दा ठूलो उपलब्धिहरु मध्येको एकमा तपाईले कसलाई सम्झनुहुन्छ ? परिवार, साथीभाई वा तपाईलाई त्यो स्थानसम्म पुर्याउन मद्दत गरेकाहरु ?
सोमपाल कामी फरक छन् ।
शनिबार आफ्नो नेतृत्वमा सोमपालले चितवन टाइगर्सलाई एभरेष्ट प्रिमियर लिगको उपाधि जिताए । च्याम्पियन टोलीले यो सिजन ५० लाख पाएको इपिएल अहिले नेपालको ठूलो प्रतियोगितामा पर्छ । बिदेशी खेलाडीको आगमनले इपिएलको उचाई अझै माथि छ ।
सोमपालले नेतृत्व गरेको टोली औषत थियो । उनको टोलीमा सबैभन्दा ठूलो नाम सोमपाल आफै थिए । तर चितवनले उनको कप्तानीमा शुरुवात देखि अन्त्यसम्म च्याम्पियन जसरी नै खेल्यो ।
फ्रान्चाइज क्रिकेटमा सोमपालको यो दोश्रो उपाधि हो । यसअघि उनको कप्तानीमा टिम चौराहा धनगढीलाई अर्को ठूलो क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिगको उपाधि जिताएका थिए ।
शनिबार त्रिवि मैदानमा भएको फाइनलमा पोखरा राइनोजलाई चार विकेटले हराएपछि सोमपाललाई प्रसिद्ध भारतीय कमेन्टेटेर तथा प्रेजेन्टर चारु शर्माले समापन समारोहमा कप्तानको रुपमा केही बोल्न अगाडी बोलाए ।
सोमपालले सबैलाई धन्यवाद दिए तर उनले अन्त्यमा यस्तो कुरा गरे जसले त्रिवि क्रिकेट मैदानसँग अभ्यस्त धेरैको मन छोयो, र शायद उनलाई सुन्नेहरुको पनि ।
“चितवन टाइगर्सलाई जसले समर्थन गर्नु भयो सबैलाई धन्यबाद भन्न चाहन्छु । अनि यो जित हाम्रो लागि कहि न कहि एकदम महत्वपूर्ण थियो । यो जितमा चाही हाम्रो कालु भन्ने कुकुर थियो जो दुर्घटनामा परेको कारण अहिले हामीसँग छैन । उसलाई सम्झन चाहन्छु,” सोमपालले एक आग्रह गर्दै भने ।
“सबैजनाले आफ्नो घर वरिपरि जति पनि जनावरहरु छन्, कृपया उनीहरुको मद्दत गर्नु होला र एक समयको खाना दिनु होला ।”
डेढ बर्षको कालु त्रिवि मैदानको ग्राउण्ड स्टाफहरुसँग बस्ने गरेको कुकुर हो जसलाई धेरैले एकदम माया गर्ने गर्थे । कालुलाई सेप्टेम्बर १४ मा त्रिवि मैदान बाहिर बाइकले ठक्कर दिएपछि मृत्यु भएको थियो ।
राष्ट्रिय टोलीका पुर्व कप्तान पारस खड्काले पनि कालुको मृत्यु भएकै दिन फेसबुकमा पोस्ट गर्दै सम्मान दिएका थिए ।
कालु मात्र नभएर त्रिवि मैदानमा रहेका कुकुरहरुलाई क्रिकेटरहरुले धेरै माया गर्ने गरेका छन् । केही बर्षअघि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षणका दौरान खेलाडीहरुको खाना व्यवस्थापन गर्ने एक क्याटरिङ्ग सदस्यले त्यही बस्दै आएको एक कुकुरलाई ढुँगा प्रहार गर्दा चितवनका बलर दिपेश श्रेष्ठले नराम्ररी हप्काएका थिए ।
त्यसैले हामी पनि भन्न चाहन्छौंः “बोल्न नसक्नेहरुलाई माया गरौं । जवाफमा पाइने माया नै हो ।”