Headline

अब्दुल्लाहको अति रक्षात्मक शैलिको आलोचना

Published

on

भारतसँग साफ च्याम्पियनसिपको आफ्नो तेश्रो लिग खेलमा पराजित भएपछि नेपाली प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको अति रक्षात्मक शैलिको आलोचना भएको छ ।

आइतबार सुनिल क्षेत्रीले गरेको एक मात्र गोलको मद्दतमा भारतले नेपाललाई १–० ले हरायो । ३४ औं मिनेटमा खाली पोस्टमै गोल गर्ने चुकेका क्षेत्रीले ८२ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितपछि पहिलो दुई खेलमा बराबरी गरेको भारत फाइनलको समिकरणमा मजबुत भएको छ भने माल्दिभ्स, नेपाल र बंगलादेश पनि यसमा कायमै रहेका छन् ।

माल्दिभ्ससँगै समान ६ अंक भएपनि गोल अन्तरका आधारमा दोश्रो स्थानमा रहेको नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ भने भारतले माल्दिभ्सबिरुद्ध खेल्नेछ । साफ च्याम्पियनसिप इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाउन नेपालले बराबरी गरे पर्याप्त हुनेछ ।

समिकरण आफ्नै हातमा रहेपनि पहिलो दुई खेलमा आकर्षक जित दिलाएका अल्मुताइरीको नेपाललाई भारतबिरुद्ध खेलाउने शैलीलाई लिएर भने नराम्रो आलोचना भएको छ ।

अल्मुताइरीले खेलभन्दा एक दिनअघि भारतले जित्ने सम्भावना ९५ प्रतिशत रहेको भनेर अभिव्यक्ति दिएको भोलीपल्ट नेपाल पराजित हुँदा उनको खेलाउने शैलिमाथि प्रश्न चिन्ह उठेको हो ।

फुटबलमा भारत लामो समयदेखि नेपालको चीरप्रतिद्वन्दी रहेको र उ बिरुद्धको हार धेरैलाई सह्य नहुने भएको कारण पनि अब्दुल्लाहले अख्तियार गरेको रक्षात्मक रणनीतिले समर्थकहरु चिढिएका हुन् । नेपालको हारपछि सामाजिक सञ्जालमा धेरैले अब्दुल्लाहको आलोचनामा समय खर्चिएका छन् ।

“यो खेल हारेपनि अन्तिम खेलमा बराबरी मात्रैले पुग्ने थियो भने किन आक्रमक खेलिएन,” एक समर्थकले सामाजिक सञ्जालमा प्रश्न गरेका छन् ।

“साफ च्याम्पियनसिप नजिते हुन्छ तर भारतलाई चाही हराउनै पर्छ,” खेल अघि अर्का एक समर्थकले लेखेका थिए ।

तर नेपालले भारतबिरुद्धको आफ्नो २२ औं खेलमा १५ हार व्यहोर्यो । नेपालले भारतबिरुद्ध दुई खेल मात्रै जितेको छ भने पाँच खेल बराबरीमा टुँगिएको छ ।

नेपालले गोल खाएपछि मात्रै शैली परिवर्तन गर्दै भारतीय पोस्टमा आक्रमण गरेको थियो । अञ्जन बिष्टले गोल गर्ने मौकालाई खेर फाल्दा नेपालले बराबरी गर्ने सुनौलो मौका समेत चुकाउन पुगेको थियो ।

पहिलो हाफमा अधिकांश समय आफ्नै पोस्टमा बिताएको नेपालले खेलमा ७१ औं मिनेटमा पहिलो कर्नर पाएको थियो । त्यही कर्नरमा पाएको अर्को कर्नर नेपालको लागि खेलका दुई कर्नर थिए । अब्दुल्लाहले बराबरीको रणनीतिले मैदानमा उत्रिएको स्विकार्न चाहेनन् ।

“बल आफ्नो नियन्त्रणमा रहँदा र नरहँदाको संरचना फरक हुन्छ । हामीले खेलमा गोल गर्ने मौका बनाएकै हौं तर त्यसमा चुक्यो । अब हाम्रो प्रमुख योजना बंगलादेशबिरुद्धको खेलमा हुनेछ । हामी त्यो खेलमै केन्द्रित हुनेछौं र राम्रो खेल्नेछौं,” अब्दुल्लाहले भने ।

Click to comment

Trending