Headline

एमबाप्पेको बिवादास्पद गोलमा फ्रान्सलाई नेसन्स लिगको उपाधि

Published

on

किलियन एमबाप्पेको बिवादास्पद गोलको मद्दतम फ्रान्सले स्पेनलाई २–१ ले पराजित गर्दै युएफा नेसन्स लिगको उपाधि जितेको छ ।

एमबाप्पेले ८० औं मिनेटमा गरेको गोलमा उनी अफसाइड रहे पनि अनसाइड दिइएको थियो । इटालीको सान सिरोमा स्पेनले मिकेल ओयारजबालको गोलमार्फत ६४ औं मिनेटमा अग्रता लिएको थियो ।

दुई मिनेटपछि नै करिम बेन्जेमाले बराबरी गोल गर्दै फ्रान्सलाई खेलमा फर्काएका थिए । खेलको अन्त्यतिर गोलकिपर ह्युगो लोरिसले दुई महत्वपूर्ण बचाउ गर्दै फ्रान्सको जित सुनिश्चित गरेका थिए ।

लोरिसले पहिले ओयारजबालको प्रहार बचाएका थिए भने त्यसपछि येरेमी पिनोको आक्रमणलाई एक्रोब्याटिक ढँगले बचाएका थिए ।

यस पटकको युरो कप मार्फत फ्रेञ्च टोलीमा ६ बर्षपछि पुनरागमन गरेको बेन्जेमाका लागि यो उपाधि निकै महत्वपूर्ण थियो । “म फ्रान्सको लागि ट्रफि जित्न चाहन्थे र त्यो लक्ष्य आज पुरा भएको छ,” बेन्जेमाले भने ।

“हामीले राम्रो खेल्यौं किनभने यो टिम निकै बलियो छ । यो टिमले कहिल्यै पनि हतियार बिसाउदैन र त्यो आज साबित भयो । यो कुनै पनि हालतमा टोली आत्तिदैन भन्ने एउटा प्रमाण हो,” उनले थपे ।

इटाली तेश्रो

बेल्जियमको अन्तिम समयको पुनरागमलाई थेग्दै युरो कप च्याम्पियन इटाली तेश्रो भएको छ । इटालीले तेश्रो स्थानका लागि भएको खेलमा बेल्जियमलाई २–१ ले हरायो ।

दोश्रो हाफ शुरु भएको एक मिनेटमा नै निकोलो बरेलाले भलिमार्फत इटालीलाई अग्रता दिलाएका थिए । डोमेनिको बेरार्डीले ६५ औं मिनेटमा इटालीको अग्रतालाई दोब्बर पारे ।

गोलका लागि निरन्तर प्रयास गरेको बेल्जियमले तीन पटक पोस्टमा प्रहार गरेको थियो । चार्लस डी केटेलाएरेले ८६ औं मिनेटमा गोल गरेपनि त्यो जितका लागि पर्याप्त थिएन ।

Click to comment

Trending