Headline

चितवनलाई पहिलो पटक एभरेष्ट प्रिमियर लिगको उपाधि, घरेलु खेलाडीको उच्च प्रदर्शन

Published

on

चितवन टाइगर्सले पहिलो पटक एभरेष्ट प्रिमियर लिगको उपाधि जितेको छ । घरेलु खेलाडीहरु कमल सिँह ऐरि र भिम सार्कीले उच्च प्रदर्शन दिएपछि चितवनले शनिबार भएको लो स्कोरिङ्ग फाइनलमा चितवनले पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्यो ।

कमलले चार विकेट लिएपछि छरितो शुरुवात गरेपनि पोखरा १७ दशमलव ५ ओभरमा १ सय ११ रनको झिनो योगफलमै समेटियो । भिमले आकर्षक इनिङ्गस खेल्दै प्रतियोगिताको दोश्रो अद्र्धशतक प्रहार गरेपछि चितवनले १५ दशमलव ५ ओभरमै लक्ष्य प्राप्त गर्यो ।

कमजोर शुरुवात गरेको चितवनले प्रतियोगिताका सर्वाधिक रनकर्ता तथा अफगानिस्तानका खतरनाक ओपनर मोहम्मद साहजाद सहित तीन विकेट गुमाउदा मात्र २० रन जोडेको थियो । तर भिमले चौथो विकेटका लागि दिलिप नाथ (१८) सँग ५४ रनको साझेदारी गर्दै टिमलाई सम्हालेका थिए ।

पोखराले दिलिप, राजेश पुलामी मगर (१४) र भिमको विकेट लिएपनि उसलाई ढिलो भइसकेको थियो । प्रतियोगिताको दोश्रो सर्वाधिक स्कोरकर्ता बनेका भिमले ४५ बलमा ७ चौका र दुई छक्काको मद्दतमा ६३ रन बनाए ।

उनले प्रतियोगितामा कुल १ सय ९६ रन बनाए । उनी भन्दा अघि चितवनकै ओपनर साहजाद रहे । साहजादले २ सय ७ रन बनाए । पोखराका लागि किशोर महतोले चार ओभरमा २७ रन खर्चदै चार विकेट लिए ।

नन्दन यादवले चार ओभरमा दुई विकेट लिँदा २६ रन खर्चिए ।

यसअघि त्रिवि मैदानमा टस हारी पहिलो ब्याटिङ्ग गरेको पोखरालाई रिचर्ड लेभी र बिपिन रावलले पहिलो विकेटका लागि चार ओभरभित्रै ३७ रन जोड्दै छरितो शुरुवात दिलाएका थिए । तर अफगान अलराउण्डर करिम जन्नतले लेभिलाई पेभिलियन फर्काएपछि पोखराले ६ रनको अन्तरमा तीन विकेट गुमायो ।

लेभिले १५ बलमा चार चौका प्रहार गर्दै २६ रन बनाए । युवा ब्याट्स्म्यान रित गौतमलाई कमल सिँह ऐरिले आउट गरे भने कप्तान सोमपाल कामीले श्रीलंकन सहान आराचिगे (२) को महत्वपूर्ण विकेट लिए ।

असेला गुणरत्ने केही आकर्षक शटहरु खेल्दै रन बनाइरहदा पोखराले ओपनर बिपिन रावललाई गुमायो । बिपिनले १५ बलमा १७ रन बनाए ।

गुणरत्नेलाई अर्का श्रीलंकन सेकुगे प्रशन्नाले पेभिलियन फर्काउदा उनले २४ बलमा तीन चौका र एक छक्काको मद्दतमा ३४ रन जोडे । गुणरत्ने र कप्तान बिनोद भण्डारीले छैटौं विकेटका लागि ३५ रनको साझेदारी गरेका थिए ।

कमलले १५औं ओभरमा बिबेक यादव र लोकेश बमको विकेट लिएपछि खेल पूर्ण रुपमा चितवनको पकडमा गएको थियो । प्रशन्नाले बिक्रम सोबलाई बोल्ड गर्दा पोखराले मात्रै १ सय ४ रनमा ८ विकेट गुमायो ।

अन्तिम ब्याट्स्म्यानको रुपमा आउट भएको कप्तान बिनोद भण्डारीले २४ बलमा २२ रन बनाए । उनले दुई चौका प्रहार गरे । कमलले ३ दशमलव ५ ओभरमा २० रन मात्रै खर्चिएका थिए । करिम जन्नतले दुई विकेट लिए ।

Click to comment

Trending