Headline

इपिएलः भैरहवालाई स्तब्ध पार्दै पोखरा पहिलो पटक फाइनलमा

Published

on

उपाधिको प्रबल दाबेदार भैरहवा ग्लेडिएटर्सलाई ७ विकेटले स्तब्ध पार्दै पोखरा राइनोज पहिलो पटक एभरेष्ट प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ ।

त्रिवि मैदानमा दोश्रो क्वालिफायरमा उत्कृष्ट बलिंग गर्दै पोखराले भैरहवालाई २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १९ रनमै रोकेको थियो । जवाफमा पोखराले १८ दशमलव २ ओभरमा मात्र ३ विकेटको क्षतिमा जित हात पार्यो ।

बलियो शुरुवात नपाएपनि पोखराको जितलाई सहज जित दिलाउने क्रममा बिपिन रावल र श्रीलंकन सहान आराचिगेले ८८ रनको निर्णायक साझेदारी गरेका थिए । निकै खराब फिल्डिङ्ग गरेको भैरहवाले खेलमा महत्वपूर्ण क्षणहरुमा तीन पटक क्याच छोडेको थियो भने ३० रन जति छोडेको थियो ।

भैरहवालाई खेलमै राख्ने क्रममा भुवन कार्कीले एकै ओभरमा दुई विकेट लिएका थिए भने रिचर्ड लेभिलाई उत्कृष्ट ढँगले रनआउट गरेका थिए । पहिलो ११ ओभरमा मात्र ४८ रन दिएको भैरहवा त्यसपछि भने खराब फिल्डिँगका कारण खेलमा निरन्तर पछि परेको थियो ।

दुर्गेश गुप्ताले बिपिन र आराचिगेको क्याच छोडेका थिए भने पहिलो पटक बिदेशी फान्चाइज ट्वान्टी ट्वान्टी खेलेका मलेसियन खेलाडी सर्विन मुनियान्डीले पनि बिपिनलाई ड्रप गरेका थिए ।

बिजयी चौका प्रहार गर्दै आफ्नो अद्र्धशतक पुरा गरेका आरचिगेले ४४ बलमा ५३ रन बनाए भने बिपिनले ३४ बलमा ४० रनको महत्वपूर्ण इनिङ्गस खेले । सहानले ७ चौका प्रहार गरे भने बिपिनले तीन चौका र एक छक्का प्रहार गरे ।

बंगलादेशी ओपनर तमिम इक्बाल चोटका कारण खेल्न नसक्ने भएपछि ओपनिङ्ग आएका रोहित कुमार पौडेलले सकारात्मक शुरुवात गर्दै पहिलो विकेटका लागि ३२ रन जोडेका थिए । दुई पटक जीवनदान पाएका रोहित र अर्का ओपनर प्रदिप ऐ्रि (११) ले एकै ओभरमा पेभिलियन फर्काएपछि भैरहवा दवाबमा आएको थियो ।

भैरहवाले १९ रनको अन्तरमै पाँच विकेट गुमाएपछि पोखरा खेलमा हावी भएको थियो । त्यसपछि कप्तान शरद भेषावकरले आरिफ शेखसँग सम्हालिएर खेल्दै ४१ रनको साझेदारी गरेका थिए ।

शरदले ३३ बलमा ३२ रन बनाएपछि भैरहवा १ सय २० रन नजिक पुगेको थियो । उनले दुई चौका र एक छक्का प्रहार गरे । आरिफले २४ बलमा २७ रन बनाउदा एक चौका र एक छक्का हिर्काए ।

रोहितले १७ बलमा दुई छक्काको मद्दतमा १८ रन बनाए । किशोर बाहेक सहान आराचिगेले पनि दुई विकेट लिए । नन्दन यादव र असेला गुणरत्नेले पनि १–१ विकेट लिएका थिए ।

Click to comment

Trending