Headline

नेपाल प्रिमियर लिगका लागि भारतीय कम्पनीसँगको सम्झौता रद्द हुने

Published

on

नेपाल क्रिकेट संघले भारतको सेभेन थ्रि स्पोर्ट्ससँग नेपाल प्रिमियर लिग (एनपिएल) ट्वान्टी ट्वान्टी फ्रान्चाइज प्रतियोगिताको सम्झौता रद्द गर्ने भएको छ ।

क्यानको बुधबार र बिहिबार बसेको केन्द्रिय समिति बैठकले सम्झौता रद्द गर्ने प्रकृया अगाडी बढाउने निर्णय लिएको हो । नेपाल सरकारले क्यानलाई प्रतियोगिताका लागि बिदेशी कम्पनीसँग सम्झौताका लागि अनुमति दिने बिषयमा कुनै प्रतिकृया नदिएपछि रद्द गर्न लागेको क्यानले बताएको हो ।

क्यानले सेभेन थ्रि स्पोर्टसलाई १० बर्षको लागि ४२ करोडमा एनपिएलको आयोजना अधिकार बेच्ने निर्णय गरेको थियो । तर क्यानको निर्णयको चौतर्फी ओलाचना भएको थियो ।

“भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँगको सहकार्यमा नेपाल क्रिकेट संघले नेपाल टि ट्वान्टी लिग आयोजना गर्ने गरि गरेको सम्झौता कार्यान्वयन गर्न नेपाल सरकारले हालसम्म पनि अनुमति प्रदान नगरेको साथै सो कम्पनीले सरकारको अनुमति पुर्व गर्नु पर्ने कार्यहरु गर्न नसकेको हुँदा उक्त सम्झौता रद्द गर्ने प्रकृया अघि बढाउने निर्णय गरेको छ,” क्यानले बिहिवार जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

क्यान अध्यक्ष चतुर बहादुर चन्दले सरकारले अनुमति नदिएको खण्डमा स्वदेशी कम्पनीसँग नै कुरा गर्दै एनपिएल गर्ने बताएका छन् । “सरकारले यस बिषयमा कुनै प्रतिकृया दिएको छैन । अब नेपालकै कम्पनीहरुलाई लिएर टेन्डर आह्वान गर्दै एनपिएल जसरी भएपनि गराउनेछौं,” चन्दले भने ।

यस्तै क्यानको बैठकले उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुर्यालको राजीनामा पनि स्विकृत गरेको छ । प्याकुर्यालको स्थानमा केन्द्रीय सदस्य प्रशान्त बिक्रम मल्ललाई कार्यबाहक सचिवको रुपमा नियुक्त गरेको छ ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरको राजीनामा पछि उनको स्थानमा पनि अब एक हप्ता भित्र १५ दिनको समयसिमा तोकेर बिज्ञापन आह्वान गर्ने निर्णय क्यानले लिएको छ ।

यस्तै युएईमा हुने आईसीसी महिला ट्वान्टी ट्वान्टी बिश्वकप एसियाली छनौटका लागि नेपाली महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षण अक्टोबर २० देखि सञ्चालन गर्ने निर्णय गरेको छ ।

Click to comment

Trending