Headline

इटालीको बिश्व किर्तिमानी अपराजित यात्रामा पूर्णबिराम

Published

on

स्पेनले अन्तर्राष्ट्रिय फुटबलमा इटालीको बिश्व किर्तिमानी अपराजित यात्रामा उसकै घरमा पूर्णबिराम लगाउदै कतार २०२२ बिश्वकप अघि बिश्वसामु नै आफ्नो दरिलो उपस्थिति रहेको सन्देश दिएको छ ।

सान सिरोमा बुधबार भएको खेलमा स्पेनले इटालीमाथि २–१ को जित हात पार्दै युएफा नेसन्स लिगको फाइनलमा स्थान बनायो । मिकेल ओयारजबालले फेराना टोरेसको दुवै गोलमा असिस्ट गरेपछि स्पनेले इटालीको ३७ खेलको अपराजित यात्रामा पूर्णबिराम लगाएको हो ।

स्पेनले अब आइतबार हुने फाइनलमा बेल्जियम अथवा फ्रान्सको सामना गर्नेछ ।

म्यानचेस्टर सिटी फर्वार्ड टोरेसले पहिलो हाफमै स्पेनलाई दुई गोलको अग्रता दिलाएका थिए । त्यसअघि ४२ औं मिनेटमा इटालीका कप्तान लियोनार्डो बोनुच्चीलाई दोहोरो पहेलो कार्डका कारण गुमाइसकेको थियो ।

लोरेन्जो पेलेग्रिनीले ८३ औं मिनेटमा इटालीका लागि एक गोल त फर्काए तर १० खेलाडीमा सिमित घरेलु टोलीका लागि बराबरीका लागि ढिलो भइसकेको थियो । इटालीले सन् १९९९ पछि प्रतिस्पर्धात्मक फुटबलमा पहिलो पटक घरेलु मैदानमा हारको सामना गरेको हो ।

जितसँगै स्पेनले युरो कपमा व्यहोरेको पराजयको बदला पनि लिएको छ । युरो च्याम्पियन इटालीले स्पेनलाई युरोमा टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

स्पेनले क्लब फुटबलमा डेब्यु गरेको डेढ महिना पनि नभएका १७ बर्षिय बार्सिलोना मिडफिल्डर गाभीलाई शुरुवाती ११ मै स्थान दिएको थियो । उनी स्पेनको लागि डेब्यु गर्ने सबैभन्दा कान्छा खेलाडी पनि भएका छन् ।

Click to comment

Trending