Headline

एभरेष्ट प्रिमियर लिगः चितवनको बाघद्वारा पोखरेली गैंडाको शिकार

Published

on

पोखरा राइनोजबिरुद्ध सशक्त प्रदर्शन निकाल्दै चितवन टाइगर्स पहिलो पटक एभरेष्ट प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ ।

बायाँ हाते स्पिनरद्वय सागर ढकाल र साहब आलमले संयुक्त रुपमा ८ विकेट लिएपछि चितवनले पोखरालाई ९ विकेटको लज्जास्पद हारको स्वाद चखायो । यसअघि एलिमिनेटर सम्म पुगेको चितवनले अब फाइनलमा दोश्रो क्वालिफायरको बिजेतासँग खेल्नेछ ।

दोश्रो क्वालिफायरमा अब पोखराले भैरहवा ग्लेडिएटर्स र काठमाडौं किंग्स ११ बीचको एलिमिनेटरको बिजेतासँग खेल्नेछ ।

पोखरा १५ ओभरमा इपिएल इतिहासकै सर्वाधिक कम योगफल ६६ रनमा समेटियो । यसअघिको सर्वाधिक न्युन योगफल पनि पोखराकै नाममा रहेको छ । पोखरा २०१८ को संस्करणमा बिराटनगर वारियर्स बिरुद्ध ८४ रनमा अलआउट भएको थियो ।

अफगानी ओपनर मोहम्मद साहजादले आक्रमक शुरुवात दिलाएपछि चितवनले ७ दशमलव ५ ओभरमै जित हात पार्यो । साहजादले २६ बलमा ४८ रन ठोकेका थिए । साहजादले सात चौका र दुई छक्का प्रहार गरे ।

चितवन जितबाट मात्र चार रन रहेको अवस्थामा उनलाई नन्दन यादवले पेभिलियन फर्काएका थिए ।

अर्का ओपनर हसिम अन्सारीले २० बलमा १४ रन बनाए । उनले प्रतियोगितामा पहिलो खेल खेलिरहेका थिए ।

त्रिवि मैदानमा बिहानको कण्डिसनमा टस हारी पहिलो फिल्डिंग गर्ने निर्णयलाई सहि साबित गर्दै सागर र शाहबले पोखरालाई ध्वस्त पारेका थिए । पोखराले ३३ रनको अन्तरमै १० विकेट गुमाएको थियो ।

प्रतियोगितामा यसअघिको न्युन योगफल बिराटनगरको नाममा रहेको थियो । बिराटनगर भैरहवा ग्लेडिएटर्सबिरुद्ध ८९ रनमा अल आउट भएको थियो ।

 

पहिलो विकेटका लागि सुनिल धमला र रिचर्ड लेभिले आकर्षक शुरुवात दिलाएपनि पोखरालाई अन्य ब्याट्स्म्यानहरुले निराश पारेका थिए । लेभि र धमलाले पहिलो विकेटका लागि पाँच ओभर भित्र ३३ रन जोडेका थिए ।
कप्तान सोमपाल कामीले लेभिलाई बोल्ड गर्दै पोखराको गतिमा ब्रेक लगाएका थिए । त्यसपछि सागर र शाहबले उत्कृष्ट बलिङ्ग गर्दै पोखरालाई ध्वस्त पारेका थिए ।

शाहबले चार ओभरमा मात्र १० रन दिए भने सागरले १४ रन खर्चिएका थिए । पोखराका लागि लेभिले सर्वाधिक १९ रन बनाए भने धमलाले ३१ बलमा १८ रन बनाए । त्यसबाहेक सबैभन्दा ठूलो योगफल बलर सुशन भारीको नाममा रह्यो ।

भारीले १४ बलमा १२ रन बनाए । सोमपाल बाहेक करिम जन्नतले पनि चितवनका लागि एक विकेट लिएका थिए ।

Click to comment

Trending