Headline

प्रदिप र तमिमको शतकीय साझेदारीमा चितवनको बिजयी यात्रा समाप्त

Published

on

प्रदिप ऐरिले आफ्नो एभरेष्ट प्रिमियर लिगकै सर्वाधिक योगफल बनाएपछि भैरहवा ग्लेडियेटर्सले चितवन टाइगर्सको बिजयी यात्रामा पूर्णविराम लगाएको छ ।

त्रिवि मैदानमा भएको पहिलो खेलमा भैरहवाले कप्तान सोमपाल कामीको अनुपस्थितिमा रहेको चितवनलाई ६ विकेटको फराकिलो अन्तरले पराजित गर्यो । जितसँगै ६ अंकका साथ दोश्रो स्थानमा उक्लिएको भैरहवाको क्वालिफायरमा स्थान बनाउने सम्भावना बढेको छ ।

यसअघि नै क्वालिफायरमा स्थान बनाइसकेको चितवन लिग चरणको समाप्तिपछि पाँच खेलबाट ८ अंक सहित शिर्ष स्थानमा कायमै रहेको छ भने एक खेल बाकी रहेको भैरहवाको ६ अंक छ । प्लेअफमा स्थान बनाइसकेको पोखरा राइनोजको चार खेलबाट पाँच अंक छ ।

एक मात्र प्लेअफ स्थानका लागि पाँच खेलबाट तीन अंक रहेको डिफेन्डिङ्ग च्याम्पियन ललितपुर पेट्रियट्स र २ अंक रहेको काठमाडौं किंग्स ११ कायम रहेका छन् । काठमाडौंले अझै दुई खेल खेल्न बाकी छ । उसलाई एक जित काफी हुनेछ ।

सोमबार पहिलो ब्याटिङ्ग गरेको चितवनले तीन बिदेशी खेलाडीहरुको योगदानमा ८ विकेटको क्षतिमा १ सय ६४ रनको चुनौतिपूर्ण योगफल बनायो । जवाफमा प्रदिपले बंगलादेशी स्टार तमिम इक्बालसँग पहिलो विकेटका लागि शतकीय साझेदारी गरेपछि भैरहवाले १७ दशमलव ५ ओभरमा चार विकेको क्षतिमा जित हात पार्यो ।

प्रदिपले पहिलो विकेटका लागि तमिमसँग १ सय ६ रनको साझेदारी गर्दै जितको आधार खडा गरेका थिए । निकै स्फुर्त रुपमा रन जोड्दै खेलमा तमिमलाई पनि पछि छोडेका उनले ४३ बलमा ७२ रन बनाए ।

प्रदिपको इनिंङ्गसमा ८ चौका र तीन छक्का सामेल थियो । तीन पटक जिवनदान पाएका तमिमले ३० बलमा ४० रन बनाउदा पाँच चौका र एक छक्का बनाए । दुवै ब्याट्स्म्यान आउट भएपनि श्रीलंकन उपुल थारँगाले १९ बलमा तीन छक्का र तीन चौकाको मद्दतमा ३९ रन बनाउदै जित सुनिश्चित गरेका थिए ।

चितवनका लागि करिम जन्नतले ३७ बलमा ३५ रन बनाएका थिए । उनले दोश्रो विकेटका लागि ओपनर मोहम्मद साहजादसँग ४२ रनको साझेदारी गरेका थिए । साहजादले तीन चौका र दुई छक्का प्रहार गर्दै २४ बलमा ३२ रन जोडे ।

सेक्कुगे प्रशन्नाले ११ बलमा तीन छक्का हिर्काउदै २४ रन जोडे । भैरहवाका लागि अविनाश बोहोराले तीन र कुशल मल्लले दुई विकेट लिएका थिए । कसिलो बलिंग गरेका कुशलले चार ओभरमा मात्र १५ रन खर्चदै दुई विकेट लिए ।

Click to comment

Trending