Headline

पोखरा प्लेअफ नजिक, २०१७ को च्याम्पियन बिराटगर लिगबाटै बाहिरियो

Published

on

तीनवटै बिदेशी खेलाडीहरु ब्याटिङ्गमा चम्किएपछि पोखरा राइनोज बिराटनगर वारियर्सलाई ७ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिगको प्लेअफ नजिक पुगेको छ ।

पहिलो ब्याटिंगको निम्तो पाएको बिराटनगरले ५ विकेटको क्षतिमा १ सय ७२ रनको चुनौतिपूर्ण योगफल बनायो । रिचर्ड लेभी, सहन आराचिगे र असेला गुणरत्नेले ब्याटिङ्गमा महत्वपूर्ण योगदान दिएपछि पोखराले १७ दशमलव चार ओभरमै लक्ष्य प्राप्त गर्यो ।

पोखराको जितसँगै लगातार चार खेलमा हारको सामना गरेको बिराटनगर लिग चरणबाटै बाहिरिएको छ । जितविहिन बिराटनगर प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्यो ।

पोखरा चार खेलबाट पाँच अंकसहित अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । पहिलो स्थानमा रहेको चितवन टाइगर्सले प्लेअफमा स्थान बनाइसकेको छ भने तीन खेल खेलको भैरहवा ग्लेडियेटर्स चार अंक सहित तेश्रो स्थानमा रहेको छ ।

डिफेन्डिङ्ग च्याम्पियन ललितपुर पेट्रियट्सको तीन र काठमाडौं किग्ंस ११ को दुई अंक रहेको छ । चार खेल खेलेको ललितपुर र दुई खेल खेलेको काठमाडौंको सम्भावना कायमै रहेको छ ।

ओपनर रित गौतमलाई दोश्रो ओभरमा पाँच रनमा गुमाएको पोखरालाई दक्षिण अफ्रिकी ब्याट्स्म्यान लेभी र श्रीलंकन आराचिगेले ७६ रनको साझेदारी गर्दै मजबुत स्थितिमा पुर्याएका थिए ।

२६ बलमा चार चौका र तीन छक्का प्रहार गरेका लेभी ४७ रनमा सिकन्दर रजाको बलमा आउट भए । बिराटनगरले आराचिगेको विकेट लिए पनि अर्का श्रीलंकन गुणरत्नेले निर्णायक पारी खेले ।

कप्तान बिनोद भण्डारीसँग ६४ रनको साझेदारी गरेका गुणरत्नेले २४ बलमै अद्र्धशतक ठोक्दै पोखराको जितलाई सहज बनाएका थिए । गुणरत्नेले चार चौका र तीन छक्का प्रहार गरे ।

बिराटनगरले ओपनर हेमराज चन्द्रपउललाई २ रनमै गुमाएको थियो । आसिफ शेखले दोश्रो विकेटका लागि दिलशान मुनविरा (१६) रनको साझेदारी गरेका थिए ।

आसिफले ३३ बलमा ४४ रन बनाउँदा चार चौका प्रहार गरे । आसिफ र नयाँ ब्याट्स्म्यान अनिल साहको विकेट लिदै पोखराले बिराटनगरको गतिमा ब्रेक लगाएपनि सिकन्दर रजा, सन्दिप रजाली र कप्तान करण केसीले टिमलाई चुनौतिपूर्ण योगफलसम्म डोर्याएका थिए ।

सिकन्दर र सन्दिपले पाचौं विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए । सिकन्दरले तीन छक्का र एक चौका प्रहार गर्दै २० बलमा २९ रन बनाए । सन्दिपले २२ बलमा २८ रन जोड्दा दुई चौका र एक छक्का हिर्काए ।

करणले राम्रो फिनिसिँग दिने क्रममा ९ बलमा तीन छक्काको मद्दतमा २४ रन बनाउदै नटआउट रहे । पोखराका लागि बिक्रम सोबले दुई तथा नन्दन यादव, बिबेक यादव र आराचिगेले १–१ विकेट लिएका थिए ।

Click to comment

Trending