Headline

माल्दिभ्सबिरुद्ध गोल गरेका मनिषले भनेः दिमागमा जे आयो त्यही गरे

Published

on

साफ च्याम्पियनसिपमा माल्दिभ्समाथि ऐतिहासिक जित हात पार्दा नेपालका गोल स्कोरर मनिष डाँगीले आफ्नो दिमाग अनुसार नै काम गरेको बताएका छन् ।

शुक्रबार साफ च्याम्पियनसिपको इतिहासमा नेपालले माल्दिभ्समाथि पहिलो जित हात पार्दा मनिषले खेलको ८६ औं मिनेटमा गोल गरेका थिए ।

काउन्टर अट्याकमा गौतम श्रेष्ठले निकालेको पासलाई बिशाल राइले नियन्त्रणमा लिन खोज्दा लडेपछि माल्दिभ्सको मिडफिल्डमा पाएको बललाई ड्रिबल गर्दै मनिषले तीन जना डिफेन्डरलाई छक्काउदै बक्सबाट शान्दार गोल गरेका थिए ।

“बल मेरो ठ्याक्कै अगाडी आउनुमा म भाग्यमानी पनि भए । मैले दिमागमा जे आयो त्यही गरे । पहिलो गोल भएकोले म भावुक पनि भए,” मनिषले खेलपछि भने ।

मनिषको यो दोश्रो अन्तर्राष्ट्रिय गोल हो । उनले यसअघि इराकबिरुद्ध भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्णमा नेपालको लागि डेब्युमै गोल गरेका थिए ।

त्यो खेलमा शुरुवाती ११ मा खेलेका मनिषलाई धेरै जसो खेलहरुमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सब्स्टिच्युटको रुपमा प्रयोग गर्दै आइरहेका छन् । शुक्रबार पनि उनले दोश्रो हाफमा नवयुग श्रेष्ठको स्थान लिएका थिए ।

गोलका लागि मनिष अब्दुल्लाह प्रति नै आभारी थिए । “कोचले म माथि धेरै बिश्वास राख्नु भएको छ । उनले मैदान प्रवेश गराउदा पनि मैले गोल गर्न सक्ने आत्मबिश्वास दिनु भएको थियो । र म यसमा सफल पनि भए । आशा गरौं हामी यो प्रतियोगितामा उत्कृष्ट नतिजा निकाल्न सफल हुनेछौं,” उनले थपे ।

Click to comment

Trending