Headline

पोखरामाथि सहज जित हात पार्दे चितवन प्लेअफमा, साहजाद र भिमको शतकीय साझेदारी

Published

on

पोखरा राइनोजमाथि ९ विकेटको शान्दार जित हात पार्दै चितवन टाइगर्स एभरेष्ट प्रिमियर लिगको प्लेअफमा प्रवेश गरेको छ ।

बलरहरुले उत्कृष्ट प्रदर्शन गर्नुका साथै अफगानी ओपनर मोहम्मद साहजाद चम्किएपछि चितवनले प्रतियोगितामा लगातार तेश्रो जित हात पार्दै प्ले अफमा स्थान पक्का गर्यो । तीन खेलपछि चितवनको ५ अंक छ भने भैरहवा ग्लेडिएटर्सको चार र पोखरा राइनोजको ३ अंक भएको छ ।

चार खेलेको ललितपुरको ३ र बिराटनगर वारियर्स तीन खेल खेलिसक्दा अंकबिहिन रहेका कारण चितवनले दुई खेल बाकी रहेकै स्थितिमा प्लेअफ प्रवेश गरेको हो ।

शाहब आलमले कसिलो बलिङ्ग गर्दै २ र सोमपाल कामी चार ओभरमा मात्र १२ रन खर्चदै एक विकेट लिएपछि पोखराले २० ओभरमा ७ विकेटको क्षतिमा मात्र १ सय २३ रन बनाउन सक्यो । इशान पाण्डेलाई शुन्यमै गुमाएपनि साहजादले भिम सार्कीसँग यो संस्करणको पहिलो शतकीय साझेदारी गर्दै चितवनलाई सहज जित दिलाएका थिए ।

दुवै ब्याट्स्म्यानले अद्र्धशतक प्रहार गरेपछि चितवनले १६ दशमलव ४ ओभरमा जित हात पार्यो । साहजादले ५२ बलमा ६३ रन प्रहार गर्दा सात चौका प्रहार गरे भने भिमले ४२ बलमा ५४ रन बनाउदा पाँच चौका हिर्काए । दुवैको नाममा समान दुई छक्का रहेको थियो ।

४२ रनमै पाँच विकेट गुमाएको पोखरालाई बिबेक यादवले सम्हालेका थिए । उनले छैटों विकेटका लागि अशेला गुणरत्नेसँग ५६ रनको साझेदारी गरेपछि पोखराले तीन अंकको स्कोर नघाएको थियो ।

पहिलो फ्रान्चाइज अद्र्धशतक बनाएका बिबेक ४५ बलमा तीन चौका र तीन छक्का सहित ५३ रनमा नटआउट रहे । गुणरत्नेले २६ बलमा २५ रन बनाए । टप अर्डरमा ओपनर रिचर्ड लेभीले १७ बलमा दुई छक्का र एक चौका सहित २० रन बनाएका थिए ।

शाहबले चार ओभरमा १७ रन खर्चिए भने सबैभन्दा महँगो साबित भएका कमल सिँह ऐरिले पनि चार ओभरमा ४० रन दिदै दुई विकेट लिए ।

Click to comment

Trending