Headline

ललितपुरको पहिलो जित, बिराटनगर लगभग बाहिरियो

Published

on

अफगानिस्तानका हजमतुल्लाह ओमारजाई उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेपछि डिफेन्डिङ्ग च्याम्पियन ललितपुर पेट्रियट्सले एभरेष्ट प्रिमियर लिगमा पहिलो जित हात पारेको छ ।

त्रिवि मैदानमा भएको हाई स्कोरिङ्ग खेलमा ललितपुरले बिराटनगर वारियर्सलाई ३८ रनले पराजित गर्दै आफूलाई प्लेअफको समिकरणमा कायमै राख्यो । लगातार तेश्रो हारपछि २०१७ को बिजेता वारियर्स लगभग बाहिरिएको छ । ललितपुरको चार खेलबाट तीन अंक भएको छ ।

ओमारजाईले २१ बलमै अद्र्धशतक ठोकेपछि ललितपुरले इपिएल इतिहासकै सर्वाधिक ठूलो योगफल खडा गर्यो । सन्दुन विराक्कोडीको लगातार दोश्रो अद्र्धशतकले राम्रो शुरुवात पाएको ललितपुरले ५ विकेटको क्षतिमा २ सय २६ रन बनायो ।

रनरेटको आधारमा बिराटनगरले राम्रो जवाफ फर्काएपनि ओमारजाईले चार प्रमुख विकेट लिएपछि उसले २० ओभरमा ८ विकेट गुमाउदै १ सय ८९ रन मात्र बनाउन सक्यो ।

आक्रमक शुरुवात गरेको बिराटनगरले पहिलो चार ओभरमित्रै ५० रन छोएको थियो । यस क्रममा वेष्ट इण्डिजका चन्द्रपउल हेमराजले १३ बलमा २८ रन बनाएका थिए । उनले चार चौका र एक छक्का प्रहार गरे ।

त्यसपछि अर्का ओपनर आसिफ शेखले दोश्रो विकेटका लागि दिलशान मुनविरासँग ५५ रनको साझेदारी गरेका थिए । शुरुवात देखि नै १० रन प्रति ओभरको रनरेट कायम राखेको बिराटनगरलाई मुनविराले आसिफ आउट भए पनि खेलमा जिवित राखेका थिए ।

आसिफले ३० बलमा ३७ रन बनाउदा ६ चौका प्रहार गरे । मुनविराले जिम्बाब्वेका अलराउण्डर सिकन्दर रजासँग ४५ रनको साझेदारी गर्दा बिराटनगरले १५ ओभरमा १ सय ५७ रन बनाइसकेको थियो ।

स्पिनर ललित नारायण राजबंशीले रजा र अर्को ओभरमा ओमारजाईले मुनविरा र करण केसीको विकेट लिएपछि खेल ललितपुरको नियन्त्रणमा पुगेको थियो । करण आउट हुँदा बिराटनगरलाई अन्तिम २६ बलमा ६३ रनको आवश्यकता रहेको थियो ।

मुनविराले ३९ बलमा पाँच चौका र चार छक्काको सहयोगमा ५९ रन बनाए । रजाले १२ बलमा दुई छक्का र दुई चौका प्रहार गर्दै २४ रन बनाए । तर शुरुवाती चार बाहेक अन्य कुनै ब्याट्स्म्यानहरुले दोहोरो अंक छुन नसकेपछि बिराटनगर खेलमा पछि पर्यो ।

यसअघिका खेलहरुमा राम्रो शुरुवात दिन नसकेका कप्तान कुशल भुर्तेलले सन्दुन विराक्कोडीसँग पहिलो विकेटका लागि ६ ओभरमा ७० रन जोडेका थिए । पावरप्लेको अन्तिम बलमा आउट भएका कुशलले १७ बलमा चार चौका र दुई छक्का सहित ३२ रन बनाए ।

बिहिवार भैरहवा ग्लेडियेटर्सबिरुद्ध पनि अद्र्धशतक बनाएका विराक्कोडीले इनिङ्गस सम्हाल्दै योगेन्द्र सिँह कार्कीसँग अर्को ४१ रन जोडेका थिए । योगेन्द्रले तीन छक्का र एक चौका प्रहार गर्दै १८ बलमा २७ रन बनाएका थिए ।

विराक्कोडीले ४३ बलमा ७३ रनको आकर्षक इनिङ्गस खेले । उनको इनिङ्गसमा १० चौका र तीन छक्का सामेल थियो । बिराटनगरको बलिङ्ग आक्रमणलाई ध्वस्त बनाउने काम अफगानी अलराउण्डर अजमतुल्लाह ओमारजाईले गरे ।

२१ बलमै अद्र्धशतक ठोकेका उनले २४ बलमा ५८ रन बनाउदै सात छक्का प्रहार गरे । उनले यो सिजन पहिलो खेल खेलेका जयकिसन कोल्सावालासँग पाचौं विकेटका लागि ६० रन जोडेका थिए ।

नारायण जोशीले अन्तिम ओभरमा रामनरेश गिरीलाई लगातार तीन छक्का प्रहार गर्दै ललितपुरलाई उत्कृष्ट फिनिसिङ्ग दिएका थिए । ललितपुरले खेलमा १९ छक्काको बर्षात गरेको थियो ।

बिराटनगरका लागि कप्तान करण केसीले दुई तथा सिकन्दर रजा, प्रतिश जिसी र दिल्शान मुनविराले १–१ विकेट लिएका थिए ।

Click to comment

Trending