Headline

क्यान सचिवको राजीनामा, अध्यक्षलाई जानकारी छैन

Published

on

नेपाल क्रिकेट संघका सचिव अशोक नाथ प्याकुर्याल र उपाध्यक्ष राजुबाबु श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

प्याकुर्याल र श्रेष्ठले बुधबार एक संयुक्त बिज्ञप्ति जारी गर्दै राजीनामा दिएको बताएका हुन् । दुवै जनाको कार्यकाल अझै दुई बर्ष बाकी नै रहेको छ ।

आफूहरुले सन्तुष्ट भएर साथै अन्य कसैसँग पुर्वाग्रह नराखेको भन्दै राजीनामा दिएको प्याकुर्यालले बताए । “निलम्बन फुकुवा भइसकेपछि हामीले क्यानलाई जहा पुर्याउनु पर्ने हो त्यहा पुर्याएका छौं । अहिले क्यान दुरुस्त रुपमा सञ्चालन भइरहेको छ र अन्तर्राष्ट्रिय निकायहरुबाट आउने कोषहरुमा पनि कुनै रोकटोक छैन,” प्याकुर्यालले भने ।

“आफ्नो काम गरिसकेपछि हामी यहाँ बसिरहनु पर्छ भन्ने हामीलाई लाग्दैन । हामी नयाँ आउने मान्छेहरुलाई मौका दिन चाहन्छौं,” उनले भने ।

पछिल्लो समय क्यानमा चरम गुटबन्दी रहेको समाचार बाहिर आइरहेको भएपनि आफूहरुले भने स्वतन्त्र रुपमा निर्णय लिएको उनले बताए । “यो बिषयलाई लिएर जसले जसरी पनि व्याख्या गर्न मिल्छ तर हाम्रो निर्णय निकै स्वतन्त्र छ,” उनले भने ।

प्याकुर्यालले यसो भनिरहदा क्यानका अध्यक्ष चतुर बहादुर चन्दले भने आफूलाई उनको राजीनामाको बिषयमा औपचारिक रुपमा कुनै जानकारी नभएको बताए ।

“मैले पनि थाहा पाएको मिडियाहरुबाटै हो । मैले आज बिहान पनि वहाँसँग कुरा गरेकै हो । वहाँले दुई बर्षको अन्तरमा कस्तो बिकास भएको जानकारी दिनको लागि पत्रकार सम्मेलनका लागि बोलाएको भनेर बताउनु भएको थियो । तर राजीनामा दिने बिषयमा कुरा भने भएको थिएन,” चन्दले भने ।

“कोरोनाको समयमा वहाँ अलि बढी नै बिरामी भएपछि आफूलाई घरबाट क्यान छोड्न दवाब पनि आइरहेको बताउनु भएको थियो । प्याकुर्यालजीलाई आर्थिक देखि सम्पूर्ण जिम्मेवारीहरु नै हामीले सुम्पिएका हौं तर उहालाई समय व्यवथापन गर्न अलि गाह्रो नै परिरहेको थियो,” चन्दले थपे ।

Click to comment

Trending