Headline

भैरहवाको पहिलो जित, बिराटनगर ६ विकेटले पराजित

Published

on

श्रीलंकन धम्मिका प्रसाद र आरिफ शेखले ३–३ विकेट लिएपछि भैरहवा ग्लेडियेटर्सले एभरेष्ट प्रिमियर लिगमा पहिलो जित हात पारेको छ । भैरहवाले २०१७ को बिजेता बिराटनगर वारियर्समाथि ६ विकेटको सहज जित हात पार्यो ।

त्रिवि क्रिकेट मैदानमा भएको दोश्रो खेलमा बिराटनगर १७ दशमलव ४ ओभरमा प्रतियोगिताकै सबैभन्दा कम योगफल ८९ रनमा समेटिएको थियो । भैरहवाले झिनो लक्ष्यमा पनि निरन्तर विकेट गुमाएपनि उपुल थारँगाले सम्हालिएर खेलेपछि १५ दशमलव ३ ओभरमा चार विकेट गुमाउदै लक्ष्य प्राप्त गर्यो ।

जितसँगै भैरहवा अंक तालिकाको माथिल्लो स्थानमा उक्लियो । पोखरा राइनोजसँगै समान तीन अंक रहेको भैरहवा रनरेटका आधारमा शिर्षमा रहेको हो । भैरहवा र पोखराबीचको खेल बर्षाका कारण रद्द भएपछि दुवैले १–१ अंक बाढेका थिए ।

भैरहवालाई प्रदिप ऐरिले छरितो शुरुवात दिलाएका थिए । अधिकांश स्ट्राइक लिएका प्रदिपले बङ्गलादेशी ओपनर तमिम इक्बालसँग २७ रन जोड्दा एक्लै २२ रन बनाएका थिए । उनले २३ बलमा तीन चौका प्रहार गरे ।

करण केसीले प्रदिपलाई पेभिलियन फर्काएपछि तमिम (१२) ले उपुल थारँगासँग २६ रन जोडेका थिए । तमिमलाई रामनरेश गिरीले सुमित महर्जनको हातबाट क्याच आउट गराए । भैरहवाले लगातार रोहित कुमार पौडेल (१२) र आरिफ शेख (शुन्य) लाई गुमाउदा बिराटनगरको झिनो आशा कायमै रहेको थियो ।

तर श्रीलंकन ओपनर उपुल थारँगाले संयमतापुर्वक ब्याटिङ्ग गर्दै भैरहवाको जित सुनिश्चित पारेका थिए । थारँगाले ३५ बलमा चार चौकाको सहयोगमा ३४ रन बनाए । बिराटनगरका लागि रामनरेशले दुई विकेट लिए भने बसन्त रेग्मीले पनि एक विकेट हात पारेका थिए ।

आरिफले जिम्बाब्वेका सिकन्दर रजाको सहित मिडल अर्डरको तीन विकेट लिएपछि बिराटनगरले कुनै पनि समय खुलेर खेल्न सकेन । श्रीलंकन धम्मिका प्रसादले ओपनर चन्द्रपउल हेमराजलाई पहिलो ओभरमै शुन्यमा पेभिलियन पठाएका थिए भने अर्का ओपनर आसिफ शेखलाई दुर्गेश गुप्ताले ११ रनमा बोल्ड गरेका थिए ।

आरिफले त्यसपछि अनिल साह (११) र बिराटनगरका सर्वाधिक रनकर्ता दिल्सान मुनविराको विकेट लिदा उसले १० ओभरमा चार विकेटको क्षतिमा मात्र ५४ रन बनाएको थियो ।

कृष्ण कार्कीले अर्को ओभरमा करण केसीलाई शुन्यमै पेभिलियन फर्काए भने आरिफले यसअघिको खेलमा अद्र्धशतक प्रहार गरेका रजाको विकेट लिए । धम्मिका र अविनाश बोहोराले २–२ विकेट लिएपछि बिराटनगर प्रतियोगिताकै सानो योगफलमा समेटियो ।

निकै कसिलो बलिँग गरेका धम्मिकाले तीन ओभरमा मात्र ६ रन खर्चिएका थिए । आरिफले तीन ओभरमा २३ रन खर्चिए । दुर्गेशले चार ओभरमा १२ रन मात्र दिएका थिए ।

मुनविराले २० बलमा २५ रन बनाउदा दुई चौका र एक छक्का प्रहार गरे भने सुमित महर्जनले १३ रन बनाए ।

Click to comment

Trending