Headline

रियल म्याड्रिड पहिलो पटक च्याम्पियन्स लिग खेलेको मोल्दोभाको क्लबसँग स्तब्ध

Published

on

१३ पटकको युरोपियन च्याम्पियन रियल म्याड्रिड पहिलो पटक च्याम्पियन्स लिग खेलिरहेको मोल्दोभन क्लब सेरिफ टिरास्पोलसँग स्तब्ध भएको छ ।

लक्जेम्बर्गका मिडफिल्डर सेबास्चियन थिलले ८९ औं मिनेटमा गोल गरेपछि मोल्दोभन च्याम्पियनले च्याम्पियन्स लिग इतिहासकै सनसनीपूर्ण नतिजा निकाल्दै स्पेनिस महारथीलाई २–१ ले पराजित गर्यो । रियललाई हार किन पनि नमिठो रह्यो भने उ घरेलु मैदान सेन्टियोगो बर्नाबेउमै खेलिरहेको थियो ।

यासुर्बेक याख्सीबोएभले पहिलो हाफमा गोल गर्दै टिरास्पोललाई अग्रता दिलाएका थिए भने करिम बेन्जेमाले पेनाल्टीमार्फत गोल गर्दै रियललाई खेलमा फर्काएका थिए । तर थिलको अन्तिम समयको हाफ भलिले बर्नाबेउलाई शान्त बनाएको थियो ।

“यो मेरो करिअरकै सबैभन्दा उत्कृष्ट र महत्वपूर्ण गोल हो,” टाँट पल्टिएपछि गत मे महिनामा बिघटन भएको रुसी क्लब एफसी ताम्बोभका लागि अघिल्लो सिजन खेलेका थिलले भने । “यो टोली निकै नै बहादुर छ । जितपछि हामी सबै पागल जस्तो भएको थियौं । यो क्लबमा धेरै नै बिदेशी खेलाडीहरु छन् र हामी थरी थरीको देशबाट आएर खेलिरहेका छौं ।”

१९९७ मा स्थापना भएको सेरिफ टिरास्पोल युक्रेन–मोल्दोभा सिमानामा रहेको ट्रान्सनिस्ट्रिया क्षेत्रमा रहेको छ । यसको कुल बजार भाउ नै जम्मा १३ दशमलव ६१ मिलियन डलर रहेको छ । रियल म्याड्रिडका ब्राजिलियन डिफेन्डर कासिमेरोको बजार भाउ ७० मिलियन युरो छ भने क्लबको ७ सय ९३ दशमलव ५० मिलियन युरो रहेको छ ।

चार चरणको छनौट खेलहरु खेल्दै पहिलो पटक समुह चरणमा स्थान बनाएको सेरिफले मंगलवार १० औं च्याम्पियन्स लिग खेल खेल्दै थियो । उसले समुह डीको आफ्नो पहिलो खेलमै युक्रेनी टोली शख्तर दोनेस्कलाई पराजित गरेको थियो ।

२०१६–१७ को सिजनमा इङ्गलिस प्रिमियर लिग क्लब लेस्टर सिटीले च्याम्पियन्स लिगको डेब्युटेन्ट क्लबको रुपमा लगातार दुई खेल जित्ने किर्तिमानको बराबरी गरेको सेरिफले मोल्दोभाको २२ मध्ये २० पटक लिग उपाधि उचालिसकेको छ ।

कासिमेरो सेरिफका ग्रिक गोलकिपर जर्जियोस अथानासियाडिसबिरुद्ध गोल गर्न असफल भएकोमा चुक्चुकाउदै थिए । “यो फुटबल हो । हामीले २० भन्दा बढी सट प्रहार गर्यौ र एक गोल गर्यौ । उनीहरुले दुई मा दुई नै गोलमा परिणत गरे । हामीले बढी ध्यान दिनु आवश्यक छ,” उनले भने ।

Click to comment

Trending