Headline

मेस्सीले पहिलो गोल गर्दा पिएसजीको म्यान सिटीमाथि बदला पुरा

Published

on

अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले पेरिस सेन्ट जर्माइनका लागि आफ्नो पहिलो गोल गरेपछि फ्रेञ्च महारथीले म्यानचेस्टर सिटीसँग गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा व्यहोरेको हारको बदला लिएको छ ।

घरेलु मैदानमा पिएसजीले मंगलवार सिटीमाथि २–० को जित हात पार्यो । अगष्टमा पेरिस आए यता मेस्सीले पिएसजीका लागि गोल गर्न सकेका थिएनन् भने घुँडाको सामान्य चोटका कारण पछिल्लो दुई खेलमा बिश्राम समेत लिएका थिए ।

मेस्सीले गरेको गोल उत्कृष्ट त थियो नै सँग–सँगै उनको मौलिक जस्तै देखिन्थ्यो । दायाँबाट बलसँग अघि बढेका मेस्सीले बक्सबाहिर किलियान एमबाप्पेसँग वान टु पास खेल्दै आयमेरिक लपोर्टलाई रोक्दै पहिलो टचमा सुन्दर प्रहारममार्फत गोल गरेका थिए ।

उनको गोलसँगै पेरिसमा दर्शकहरु खुशीले झुमेका थिए । “महत्वपूर्ण भनेको उपाधि दाबेदारमाथि जित हात पार्न सफल हुनु नै हो । म पहिलो गोलका लागि निकै व्यग्र थिए । मैले धेरै खेलेको थिइन र घरेलु मैदानमा पनि जम्मा एक पटक खेलेको थिए । म बिस्तारै टिममा सेटल हुँदैछु,” ७४ औं मिनेटमा पिएसजीको जित सुनिश्चित गरेका मेस्सीले भने ।

पिएसजीका लागि यो सिजनका सम्भवत उत्कृष्ट खेलाडीको रुपमा अघि आएका इद्रिसा गाना गुएले आठौं मिनेटमै गोल गर्दै सिटीलाई खेलमा पछि पारेका थिए ।

दुई गोलको बीचमा सिटीले अधिकांश समय पिएसजीलाई दवाबमा राखेको थियो तर प्रिमियर लिग च्याम्पियनले कुनै पनि समय राम्रो फिनिसिंग पाउन सकेन । रहिम स्टर्लिङ्ग र बर्नार्डाे सिल्भाको प्रहार बारमा लागेर फर्किदा सिटी अभागी साबित भएको थियो । यद्दपि सिटी दोश्रो चरणमा पुग्नका लागि भने पूर्ण रुपमै आशावादी रहनेछ ।

समुए ए मा पिएसजी र बेल्जियमको क्लब ब्रुगको समान चार अंक रहेको छ भने सिटीको तीन अंक छ । पिएसजीलाई आफ्नो घरमा बराबरीमा रोकेको ब्रुगले मंगलवार नै भएको खेलमा जर्मन टोली आरबी लाइपजिगलाई २–१ ले हराएको थियो ।

Click to comment

Trending