Headline

च्यासलको कप्तानी बिराजले गर्ने, क्लबलाई युक्यानको किट प्रायोजन

Published

on

कार्तिकका लागि तय भएको ए डिभिजन लिग फुटबलका लागि च्यासल युथ क्लबले राष्ट्रिय टोलीका पुर्व कप्तान बिराज महर्जनलाई कप्तान नियुक्त गरेको छ ।

काठमाडौंमै भएको थ्रि नेसन्स कपबाट नेपालका लागि अन्तिम खेल खेलेका बिराजले गत सिजन ए डिभिजन लिग बिजेता मच्छिन्द्र क्लबबाट खेलेका थिए भने त्यसअघि उनले लामो समय थ्रि स्टारमा बिताएका थिए ।

एन्फा एकेडेमीका उत्पादन विराजले नेपाली राष्ट्रिय फुटबल टोलीबाट ७३ खेल खेलेका थिए । २००८ मा पोखरामा सम्पन्न पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका विराजले नेपालका लागि १८ खेलमा कप्तानी गरेका थिए ।

विराजकै कप्तानीमा नेपालले बंगबन्धु गोल्डकप र १२ औं दक्षिण एसियाल खेलकुद (साग) को उपाधि जितेको थियो । त्यस्तै एएफसी सोलिराडिटी कपमा विराजले नै आर्म ब्याण्ड लगाएर टिमको नेतृत्व गरेका थिए । उक्त प्रतियोगितामा नेपालले उपाधि जितेको थियो ।

उनले संकटा, एनआरटी र मनाङ मस्र्याङदी क्लबका लागि पनि खेलेका थिए । उनको कप्तानीमा मनाङले पनि उपाधि जितेको थियो ।

युक्यानको प्रायोजन

चीनको अन्तर्राष्ट्रिय खेलकुद सामाग्री उत्पादक युक्यानले मंगलवार नै च्यासलसँग किट सम्झौता गरेको छ । सम्झौता यो एक सिजनको लागि मात्र रहनेछ । पछिल्लो ३० वर्षदेखी सकृय यूक्यानको नेपालमा आधिकारिक विक्रेता सीटीएल कम्पनी प्राइभेट लिमिटेड रहेको छ ।

सीटीएल ‘ली–नीङ’ ब्रान्डको समेत नेपालमा आधिकारिक विक्रेता हो । यूक्यानले अष्ट्रेलियाको एडिलेइड युनाइटेड क्लबलाई पनि प्रायोजन गरेको छ । सम्झौता अन्तर्गत युक्यानले लिगसहित अन्य नकआउट प्रतियोगिताहरुका लागि च्यासललाई किट उपलब्ध गराउनेछ ।

प्रायोजन सम्झैता पत्रमा युक्यानका तर्फबाट सीटीएल कम्पनी प्रालीका प्रबन्ध निर्देशक राजेन महर्जन र च्यासलका अध्यक्ष रमेश बेञ्जनकारले हस्ताक्षर गरेका थिए ।

लि म्यान्सन प्राविधिक निर्देशक नियुक्त

च्यासलले मंगलवार नै स्कटिस लि म्यान्सनलाई क्लबको प्राविधिक निर्देशक नियुक्त गरेको छ । म्यान्सन पछिल्लो समय लाओस एफसीमा प्राविधिक निर्देशकका रुपमा आवद्ध थिए । उनीसँग फिलिपिन्सको पुरुष अण्डर–२३ र महिला राष्ट्रिय टोली सम्हालिसकेको अनुभव छ ।

म्यान्सनले एएफसी च्याम्पियन्स कप खेलिसकेको टोली ग्लोबल एफसीमा ६ वर्ष मुख्य प्रशिक्षक भएर काम गरेका थिए । म्यान्सनले खेलाडी जीवनमा स्कटल्यान्डको ग्रेटना र क्विन अफ दी साउथबाट खेलेका थिए । उनले अमेरिकाको रिचमण्ड किकर्सबाट फुटबल खेलेका थिए ।

Click to comment

Trending