Headline

बिराटनगरलाई अन्तिम बलमा पराजित गर्दै चितवनको बिजयी शुरुवात

Published

on

राजेश पुलामी मगरले सुझबुझपूर्ण इनिङ्गस खेल्दै राम्रो फिनिसिङ्ग दिदा चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिगमा बिजयी शुरुवात गरेको छ । त्रिवि मैदानमा दिनको पहिलो खेलमा चितवनले २०१७ को बिजेता बिराटनगर वारियर्सलाई दुई विकेटले पराजित गर्यो ।

बलरहरुको मिश्रित प्रदर्शनमा चितवनले बिराटनगरलाई ९ विकेटको क्षतिमा १ सय ५१ रनमै रोक्यो । अफगानिस्तानका बिष्फोटक ओपनर मोहम्मद साहजादलाई शुरुमै गुमाएपनि घरेलु खेलाडीहरुले महत्वपूर्ण ब्याटिङ्ग प्रदर्शन दिदा चितवनले अन्तिम बलमा जित हात पार्यो ।

बिराटनगरले नियमित रुपमा चितवनको विकेट लिएपनि भिम सार्की, दिलिप नाथ र राजेशले जितको आधार खडा गरेका थिए । छरितो ब्याटिङ्ग गरेका भिमले ११ बलमै ३० रन प्रहार गरेका थिए । उनले पाँच चौका र एक छक्का प्रहार गरे ।

दिलिपले दुई छक्का र एक चौकाको मद्दतमा २१ बलमा २३ रन बनाए । अन्तिम बलमा एक रन चाहिएको अवस्थामा स्पिनर अनिल खरेललाई चौका प्रहार गरेका राजेशले ३९ बलमा दुई छक्का र दुई चौकाको मद्दतमा ४३ रन बनाए ।

अन्तिम ओभरमा दुई रन चाहिएको अवस्थामा अनिलले पहिलो पाँच बलमा मात्र एक रन खर्चदै कमल सिँह ऐरिलाई बोल्ड गरेका थिए । बिराटनगरले सिकन्दर रजा र कप्तान करण केसीले २–२ विकेट हात पारे ।

यसअघि सोमपाल कामीले पहिलो ओभरमै दुई विकेट लिएपछि बिराटनगरको शुरुवात राम्रो हुन सकेन । राष्ट्रिय टोलीका स्टार ओपनर आसिफ शेख गोल्डेन डक आउट हुन पुगे भने क्यानडाका रायन पठान (चार) पनि सस्तैमा पेभिलियन फर्किएका थिए ।

दोश्रो ओभरमा चन्द्रपउल हेमराजलाई कमल सिँह ऐरिले बोल्ड गरेपछि बिराटनगरले ९ रनमै तीन विकेट गुमाएको थियो ।

अनिल कुमार साह र रजाले चौथो विकेटका लागि ६१ रनको साझेदारी गर्दै बिराटनगरलाई सम्हालेका थिए । स्पिनर सागर ढकालले त्यसपछि दुई बलमा दुई विकेट लिदै बिराटनगरलाई रोकेका थिए ।

उनले अनिल र सुमित महर्जनको विकेट लिदै चितवनलाई खेलमा फर्काएका थिए । अर्को ओभरमा साहब आलमले करण केसीलाई एक रनमै पेभिलियन फर्काए । ३१ बलमा ३२ रन बनाउदा तीन चौका र एक छक्का प्रहार गरे ।

७३ रनमा ६ विकेट गुमाएको स्थितिबाट रजाले सौरभ खनालसँग ५१ रनको साझेदारी गर्दा निरन्तर रन बटुलेका थिए । रजाले ४७ बलमा ६७ रन बनाए । उनको इनिङ्गसमा ७ छक्का र दुई चौका प्रहार गरेका थिए ।

सौरभले १९ बलमा नटआउट ३० रनको महत्वपूर्ण इनिङ्गस खेलेपछि बिराटगरले डेढ सय रन कटाएको थियो । सोमपाल र सागर बाहेक चितवनका लागि करिम जन्नत र कमलले पनि २–२ विकेट लिएका थिए ।

Click to comment

Trending