Headline

काठमाडौंको उत्कृष्ट प्रदर्शन, डिफेन्डिँग च्याम्यिन ललितपुर पहिलो खेलमै पराजित

Published

on

जितेन्द्र मुखियाको सशक्त बलिंँगसँगै दुई बिदेशी खेलाडीहरुले उत्कृष्ट ब्याटिङ्ग प्रदर्शन गरेपछि काठमाडौं किंग्स ११ ले एभरेष्ट प्रिमियर लिगमा बिजयी शुरुवात गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा पवन शर्राफको अद्र्धशतकको मद्दतमा ललितपुर प्याट्रियट्सले २० ओभरमा ८ विकेट गुमाउदै १ सय ५७ रनको सम्मानजनक योगफल बनायो ।

अफगानी ओपनर रहमनुल्लाह गुर्बाज र जिब्बाब्वे अलराउण्डर रायन बर्लले बिष्फोटक ब्याटिङ्ग गरेपछि काठमाडौंले १४ दशमलव दुई ओभरमै लक्ष्य प्राप्त गर्यो । ओपनर सुभाष खकुरेल (शुन्य) र अमित श्रेष्ठ (चार) लाई सस्तैमा गुमाउदा काठमाडौंले १२ रनमात्रै जोडेको थियो । तर गुर्बाजले ताबड तोड ब्याटिङ्ग गर्दै बर्लसँग ७६ रनको साझेदारी गरेका थिए ।

२४ बलमै अद्र्धशतक ठोकेका गुर्बाजले ३६ बलमा ५९ रन बनाए । उनले चार चौका र चार छक्का प्रहार गरे । गुर्बाजको विकेट गुमाएपछि बर्लले बिष्फोटक ब्याटिङ्ग थाले । स्पिनर ललित नारायण राजबंशीलाई एकै ओभरमा चार छक्का र एक चौका प्रहार गरेका बर्लले २६ बलमा अद्र्धशतक पुरा गरेका थिए ।

म्यान अफ द म्याच बर्लले चौथो विकेटका लागि राजु रिजालसँग पनि ७२ रनको पार्ट्नरसिप गरे । बर्ललले ३४ बलमै ७७ रन ठोक्दा सात छक्का र तीन चौका प्रहार गरे । राजुले १३ बलमा १९ रन बनाए । उनको नाममा दुई चौका रह्यो ।

दुई ओभरमात्रै बलिङ्ग गरेका ललितले ४८ रन खर्चिएका थिए ।

यसअघि जितेन्द्र मुखियाले सटिक बलिङ्ग गरेपछि ललितपुरले पहिलो तीन विकेट गुमााउदा मात्र ७ रन जोडेको थियो । पवनले त्यसपछि चौथो विकेटका लागि शंकर राणासँग ५६ रनको साझेदारी गर्दै ललितपुरलाई सम्हालेका थिए ।

काठमाडौंका दुई प्रमुख खेलाडी पाकिस्तानी शाहिद अफ्रिदी र सन्दिप लामिछाने दुवैबिरुद्ध आक्रमक ब्याटिङ्ग गरेका पवनले योगेन्द्र सिँह कार्कीसँग अर्को ६३ रनको साझेदारी गर्दै टिमलाई सम्मानजनक योगफलसम्म डोर्याए ।

पवनले ४४ बलमा ६१ रन प्रहार गर्दा पाँच चौका र चार छक्का हिर्काएका थिए । योगेन्द्रले पनि छरितो प्रदर्शन गर्दै २० बलमा ३३ रन जोडे । उनले तीन छक्का प्रहार गरे । भुटानी खेलाडी मिक्यो दोर्जीले आफ्नो क्रिकेट इतिहासको पहिलो फ्रान्चाइज खेलमा १७ रन बनाए भने नारायण जोशीले १२ रन जोडेका थिए ।

Click to comment

Trending