Headline

नेपालले ८ बर्षमा पहिलो पटक ओमानलाई हरायो

Published

on

बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले ओमानलाई ८ बर्षमा पहिलो पटक पराजित गरेको छ ।

अल अमिरातमा करण केसी र सन्दिप लामिछानेले चार–चार विकेट लिएपछि ओमान ३७ दशमलव १ ओभरमा १ सय २१ रनको झिनो योगफलमै समेटियो । कप्तान ज्ञानेन्द्र मल्ल र आसिफ शेखले नेपालको लागि एकदिवसीय अन्तर्राष्ट्रियको सबैभन्दा ठूलो साझेदारी गरेपछि नेपालले १९ दशमलव २ ओभरमै मात्र तीन विकेटको क्षतिमा लक्ष्य प्राप्त गर्यो ।

ज्ञानेन्द्रले करिअरको चौथो र लगातार दोश्रो एकदिवसीय अन्तर्राष्ट्रिय अद्र्धशतक बनाए भने आशिफ दोश्रो अद्र्धशतकबाट मात्र १० रनले चुके । ४४ बलको सामना गरेका उनले ७ चौका प्रहार गरे । आशिफसँग ९५ रनको साझेदारी गरेका ज्ञानेन्द्र सम्भवत आफ्नो एकदिवसीय करिअरकै आकर्षक इनिङ्गस खेल्ने क्रममा ज्ञानेन्द्रले ४६ बलमा ५२ रन बनाए ।

यसअघि अमेरिकाबिरुद्धको खेलमा पनि अद्र्धशतक बनाएका ज्ञानेन्द्रले चार चौका र दुई छक्का प्रहार गरे ।

नेपालले पछिल्लो पटक ओमानलाई २०१३ आईसिसि बिश्व क्रिकेट लिग डिभिजन ३ मा पराजित गरेको थियो । त्यसयता नेपालले ओमानलाई हराउन सकेको थिएन ।

जितसँगै नेपाल लिग टुको अंक तालिकामा चौथो स्थानमा उक्लिएको छ । समान ८ अंक रहेपनि नेपालले नामिबियालाई रनरेटको आधारमा पछि पारेको छ । नेपालले ८ र नाबियाले ७ खेल खेलेको छ ।
लिग टु मा तेश्रो हार व्यहोरेको ओमान १३ खेलपछि २० अंक साथ पहिलो स्थानमा कायमै छ । स्कटल्याण्ड ८ खेलपछि ९ अंकसहित तेश्रो स्थानमा छ ।

टस जिति पहिलो फिल्डिँग गरेको नेपालले कुनै पनि समय ओमानलाई खुलेर खेल्न दिएन । करणले शुरुवाती तीन विकेट लिएपछि दवाबमा आएको ओमान सन्दिपको पनि उत्कृष्ट प्रदर्शन पछि ४० ओभर समेत टिक्न सकेन । करणले यसअघिको खेलमा आक्रमक ब्याटिङ्ग गर्दै शतक पुरा गरेका जतिन्दर सिँह (१३), सुफयान मेहमुद र आयान खानको विकेट लिएपछि ओमानले पहिलो तीन विकेट मात्र ३० रनमा गुमायो ।

सन्दिपले त्यसपछि मोहम्मद नदिमको महत्वपूर्ण विकेट लिदै ओमानलाई दवाबमा राखे । अर्को ओभरमा सन्दिपले सुरज कुमार र नेस्टर धाम्बालाई लगातार आउट गरेपछि ओमानले ४३ रनमा ६ ब्याट्स्म्यान गुमाएको थियो । श्रृंखलामा पहिलो खेल खेलेका शरद भेषावकरले सन्दिप गाउड र नशिम खुशीको विकेट लिदै खेल पुर्ण रुपमा नेपालको पकडमा राखे ।

पाचौं नम्बरमा ब्याटिंग गर्न आएका कप्तान जिसन मक्सुदले ओमानको इनिङ्गस सम्हाल्ने प्रयास गरेपनि उनी करणको चौथो शिकार भए । मक्सुदले ६६ बलमा दुई चौका र एक छक्काको मद्दतमा ४१ रन बनाए ।

सन्दिपले ८ दशमलव १ ओभरमा मात्र १८ रन खर्चिए भने करणले ८ ओभरमा २५ रन दिएका थिए ।

Click to comment

Trending