राष्ट्रिय

ओमान विरुद्ध बलिङ गर्दै नेपाल, आज दुई परिवर्तन 

Published

on

विश्वकप लिग टु अन्तर्गत ओमान भ्रमणको आफ्नो अन्तिम खेलमा नेपालले ओमान विरुद्ध पहिले बलिङ गर्ने भएको छ । नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएका हुन् ।

आजको खेलमा नेपालले दुई परिवर्तन गरेको छ । मध्यक्रमका ब्याट्सम्यानहरु शरद भेषावाकर र आरिफ शेखले सुरुवाती ११ मा स्थान बनाउँदा कुशल मल्ल र गुल्शन झा टोली बाहिर रहेका छन् ।   

यस शृंखलाको पहिलो खेलमा अमेरिका माथि पाँच विकेटको सहज जित निकालेको नेपाल दोश्रो खेलमा ओमानसँग पाँच विकेटले नै पराजित हुन पुगेको थियो । त्यस्तै अमेरिकासँग एकदिवसीयमा पहिलो पटक हारको सामना गरेको नेपालले छ विकेटको हार चाख्न बाध्य भएको थियो ।

नेपालले लिग टु मा यस अघि ओमानसँग खेलेका तीन खेलमा नै हार व्यहोरेको थियो । नेपाली टोली ओमान विरुद्ध पहिलो जितको खोजीमा छ भने नेपालको लागि अन्तिम खेलमा प्रशिक्षण गर्न लागेको प्रशिक्षक डेव ह्वाटमोरलाई पनि सुखद बिदाई दिन चाहन्छ ।     

लिग टु मा सात खेल खेलेको नेपालले तीनमा जित हात पार्दा बाँकी चार खेलमा हारको सामना गर्न पुगेको छ । छ अंक रहेको नेपाल अंक तालिकाको छैटौँ स्थानमा रहेको छ भने पपुवा न्यु गिनी सातौँ स्थानमा रहेको छ ।   

नेपाली टोली – ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दिप लामिछाने, सोमपाल कामी, रोहित कुमार पौडेल, बिनोद भण्डारी, करण केसी, सुशन भारी, शरद भेषावाकर र आरिफ शेख

Click to comment

Trending