Headline

फेरि हार्यो नेपाल

Published

on

ओपनर स्टेभन टेलरको आक्रमक ब्याटिङ्गपछि नेपालले आईसिसि क्रिकेट बिश्वकप लिग टु त्रिकोणात्मक श्रृंखलामा लगातार दोश्रो पराजय भोगेको छ ।

ओमानमा भएको खेलमा एकपटक फेरि निकै फितलो ब्याटिङ्ग गरेको नेपाल ४८ ओभरमा १ सय ७४ रनको झिनो योगफलमै समेटियो । टेलरले ६३ बलमै ९२ रन ठोकेपछि अमेरिकाले ३० ओभर भित्रै लक्ष्य प्राप्त गर्दै चार विकेटको क्षतिमा १ सय ७५ रन बनायो ।

नेपालले यसअघिको खेलमा पनि १ सय ९४ रन बनाउदा ओमानले ३१ दशमलव १ ओभरमै लक्ष्य पछ्याएको थियो ।

२०२३ बिश्वकपको छनौटको एक चरणको रुपमा रहेको लिग टु मा नेपाल हारका कारण चौथो स्थानमा उक्लन असफल रह्यो । ७ खेल खेलेको नेपालको ६ अंक रहेको छ भने दोश्रो स्थानमा रहेको अमेरिकाको १४ अंक भएको छ । अमेरिकाले १५ खेल भने खेलिसकेको छ ।

ओमान १२ खेलपछि २० अंकसहित शिर्षस्थानमा कायमै रहेको छ । यो श्रृंखलाको अन्तिम खेलमा नेपालले आइतबार ओमानको सामना गर्नेछ ।

नेपालले दिएको झिनो लक्ष्यको फाइदा उठाउदै टेलरले निकै आक्रमक पारी खेल्दै टिमलाई जित्ने स्थितिमा पुर्याएका थिए । लेग स्पिनर सन्दिप लामिछानेले आफ्नो पहिलो ओभरमै दुई विकेट लिएपनि अर्को एण्डमा टेलरले आक्रमक इनिङ्गसलाई निरन्तरता दिएका थिए ।

करण केसीको बलमा आउट हुनु अघि १२ चौका र तीन छक्का प्रहार गरेका टेलर आफ्नो पहिलो एकदिवसीय शतक बनाउनबाट भने चुके । करणले त्यही ओभरमा सन्जय कृष्णमुर्तिलाई पनि शुन्यमा पेभिलियन फर्काउदै झिनो आशा दिए पनि जस्करण मल्होत्रा र मोनांक पटेलले अद्र्धशतकीय साझेदारी गर्दै अमेरिकाको जित सुनिश्चित पारेका थिए ।

मानोंकले धैर्यता पुर्वक खेल्दै ७० बलमा ३८ रन बनाए भने जस्करणले तीन छक्कमा र दुई चौकाको मद्दतमा ३२ बलमा ३६ रन बनाए ।

यसअघि करिमा गोरेले शुरुवाती तीन विकेटमै आफ्नो भुमिका खेलेपछि नेपालले सोचे अनुरुपको शुरुवात पाउन सकेन । गाोरेले काइल फिलिपको बलमा आसिफ शेखको टप एजलाई उत्कृष्ट ढँगले समाते भने दोश्रो विकेटका लागि भएको अद्र्धशतकीय साझेदारी पनि तोडे ।

यस क्रममा उनले राम्रो लयमा देखिएका कुशल भुर्तेललाई बोल्ड गरेका थिए । कुशलले ४३ बलमा ३६ रन बनाउदा पाँच चौका र एक छक्का प्रहार गरे । लगत्तै गोरेले फर्ममा रहेका रोहित कुमार पौडेललाई एल्मोर हचिन्सनको बलमा डाइभ हान्दै पोइन्टमा उत्कृष्ट क्याच लिएका थिए ।

ज्ञानेन्द्र र बिनोद भण्डारी (१०) बीचको साझेदारी पनि लामो समय टिक्न नसक्दा प्रशिक्षक डेभ ह्वाटमोरले डेब्युटेन्ट गुल्शन झालाई पाँच नम्बरमा पठाउदै अचम्ममा पारे । तर गुल्शनले ज्ञानेन्द्रसँग ५१ रनको साझेदारी गरे ।
५३ बलको सामना गरेका गुल्शनले दुई चौका र एक छक्काको मद्दतमा २८ रन बनाए । कुशल मल्ल (शुन्य) र सोमपाल कामी (२) दुवैले खराब शट रोज्दै फेरि एकपटक निराश बनाए । ज्ञानेन्द्रले १ सय १ बलमा आफ्नो अद्र्धशतक पुरा गरे भने ४६ औं ओभरमा फिलिपको बलमा पेभिलियन फर्किए ।

अमेरिकाका लागि तिब्र गतिका बलरहरुले ८ विकेट लिँदा कप्तान सौरभ नेत्रभाल्करले ४ र फिलिपले दुई विकेट हात पारे ।

Click to comment

Trending