Headline

च्याम्पियन्स लिगः रोनाल्डोले नाइ भनेर के भयो र ? म्यान सिटीको लागि ग्रिलिस आइसके ।

Published

on

पोर्चुगिज सुपरस्टार क्रिष्चियानो रोनाल्डोलाई भित्र्याउन म्यानचेस्टर सिटीले राम्रै कसरत गरेको थियो । तर उनले सिटीको प्रस्तावलाई लत्याउदै पुरानो क्लब म्यानचेस्टर युनाइटेड रोजे ।

सिटीले बुधबार च्याम्पियन्स लिगमा आफ्नो पहिलो खेल खेल्यो र त्यसमा रोनाल्डोको स्थान पाएका ज्याक ग्रिलिसले पनि डेब्यु गरे । अन्ततः सिटीलाई रोनाल्डोले गरेको अस्विकारको कुनै पछुतो भएन ।

ग्रिलिसले शान्दार प्रदर्शन गर्दै सिटीको जर्मन क्लब आरबी लाइपजिग माथि ६–३ को सनसनीपूर्ण जितमा महत्वपूर्ण भुमिका खेले ।

इंगल्याण्डका लागि युरो कपमा पनि टिममा स्थान बनाएका ग्रिलिसले च्याम्पियन्स लिग खेल्न पाउने आकर्षणका कारण नै आफ्नो बच्चादेखिको क्लब एस्टन भिल्ला छोड्दै १ सय मिलियन पाउण्डको क्लब किर्तिमानी रकममा सिटी आएको बताएका थिए । र उनले यसको भरपुर फाइदा उठाए ।

इतिहाद स्टेडियममा दोश्रो हाफमा एकल प्रयासमा सुन्दर गोल गरेका ग्रिलिसले पहिलो हाफमा नेथन एकेको गोलमा पनि उत्कृष्ट कर्नरमार्फत असिस्ट गरेका थिए । सिटी व्यवस्थापक पेप ग्वार्डियोलाले रोनाल्डो नहुनुको क्षतिपुर्ति पुरा भएको बिश्वास राखे भने ग्रिलिसले प्रेरणादायी प्रदर्शन मार्फत त्यसलाई साबित पनि गरि छाडे ।

“मलाई एकदम राम्रो लाग्यो । पछिल्लो केही साता म यो खेलको लागि निकै व्यग्र थिए । मैले वास्तवमै च्याम्पियन्स लिगमा खेले र यो मेरो लागि अविस्मरणीय रह्यो । आजको जितले यसलाई अझै राम्रो बनायो । यो हाम्रो लागि उत्कृष्ट रात थियो,” ग्रिलिसले खेलपछि भने ।

नोर्डी मुकिलेको आत्मघाती गोलपछि सिटीको अग्रता २८ मिनेटमा दोब्बर बनेको थियो । तर क्रिष्टोफर एनकुंकुले ४२ औं मिनेटमा लाइपजिगलाई खेलमा फर्काए । रियाद माह्रेजले पेनाल्टीमा गोल गर्दै पहिलो हाफ अघि सिटीको दुई गोलको अग्रता फर्काएका थिए ।

एनकुंकुले ५१ औं मिनेटमा अर्को गोल गर्दै लाइपजिगलाई खेलमा कायमै राखेपनि ग्रिलिसको गोलले फेरि एकपटक सिटीलाई माथि राख्यो । एनकुंकुले ह्याट्रिक गर्दै खेललाई रोमाञ्चक बनाउदा जाओ क्यान्सेलो र ग्याब्रियल जिजसले गोल गर्दा सिटीको जित सुरक्षित बन्यो ।

Click to comment

Trending