Headline

च्याम्पियन्स लिगः मेस्सीले शुरुवात गरेको खेलमा पिएसजी रोकियो, मिलानको पुनरागमन खल्लो

Published

on

लियोनल मेस्सीले पेरिस सेन्ट जमाईन (पिएसजी) का लागि शुरुवात गरेपनि फ्रेञ्च महारथी च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा बेल्जियमको क्लब ब्रुगसँग १–१ को बराबरीमा रोक्किएको छ ।

यान ब्रेडेल स्टेडियममा एण्डर हेरेराले पिएसजीलाई शुरुवात दिलाएपनि यान्स भानाकेनले घरेलु टोलीका लागि बराबरी गोल गरेका थिए । उत्कृष्ट प्रदर्शन गरेको ब्रुग बराबरीको हकदार नै थियो ।

यसअघि सब्स्टिच्युटको रुपमा पिएसजीका लागि मात्र २४ मिनेट खेलेका मेस्सी आफ्नो पहिलो गोलको खोजीमा रहदा पहिलो हाफमा क्रसबारमा हिर्काउन पुगेका थिए भने दोश्रो हाफमा ब्रुग गोलकिपर सिमाने मिग्नोलेटको राम्रो परिक्षा लिन सफल भएका थिए । म्याट्स रिट्स माथि फउल प्रहार गरेपछि मेस्सीले पहेलो कार्ड पनि खान पुगे ।

मेस्सी, नेमार र किलियन एमबाप्पेको खतरनाक आक्रमकलाई एकैपटक शुरुवात गराए पनि मउरिसियो पोचेटिनोको टोलीको प्रदर्शन भने फिक्का रह्यो । उनीहरुलाई सँगै उत्कृष्ट खेल देखाउनका लागि हामीलाई समयको आवश्यकता छ, पोचेटिनोले खेलपछि भने ।

मिलानको पुनरागमन तितो

जोर्डन हेन्डरसनले निर्णायक गोल गरेपछि लिभरपुलले एसि मिलानको च्याम्पियन्स लिगमा पुनरागमनलाई नमिठो स्वाद दिएको छ । निकै नै रोमाञ्चक खेलमा लिभरपुलले मिलानलाई ३–२ ले पराजित गर्यो ।

एन्फिल्डमा फिकायो टोमोरीको आत्मघाती गोलपछि लिभरपुलले नवौं मिनेटमै १–० को अग्रता लिएको थियो । लिभरपुललाई अग्रता दोब्बर बनाउने अवसर पाँच मिनेटपछि नै मिल्यो तर मोहम्मद सलाह पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

त्यसपछि खेलमा मिलानले पकड जमायो । एन्ट रेबिचले ४२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए भने दुई मिनेटपछि नै ब्राहिम डियानले मिलानलाई अग्रता दिलाए ।

सलाहले पहिलो हाफको गल्तीको भरपाई गर्दै दोश्रो हाफ शुरु भएको चार मिनेटपछि नै गोल गर्दै लिभरपुललाई खेलमा फर्काए र हेन्डरसनले ६९ औं मिनेटमा बिजयी गोल गरे ।

Click to comment

Trending