Headline

बायर्नसँग बार्सा फेरि पनि नराम्ररी पराजित

Published

on

रोबर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि बायर्न म्युनिख च्याम्पियन्स लिगमा बार्सिलोनालाई पराजित गर्दै स्पेनिस महारथी युरोपियन फुटबलमा धेरै पछाडी धकेलिएको प्रमाण राख्न सफल भएको छ ।

अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी लगायत अन्य धेरै खेलाडीहरुले छोडिसकेको बार्सिलोनाका लागि हार किन पनि नराम्रो धक्का रह्यो भने उसले बायर्नसँग क्याम्प नोउमै ३–० को हार व्यहोर्न पुगेको हो । लिरोय सानेले मिलाएको मौकामा थोमस मुलरको गोलबाट अग्रता पाएको बायर्नले खेलमा थप गोल गर्ने मौका पनि गुमाएको थियो ।

लेवान्डोस्कीले एक घण्टा अघि नै दोश्रो गोल गर्दा एक पटक फेरि बार्सालाई गत सिजनको ८–२ को लज्जास्पद हारको झल्को आउने देखिएको थियो । त्यो खेल भन्दा पनि बढी दवाब बायर्नले बार्सामाथि बनाउदा घरेलु टोलीका समर्थक निराश बनेका थिए ।

“यो जे हो त्यही हो । हामी जे छौं त्यो अहिले हाम्रो यथार्थ हो,” बार्सिलोना डिफेण्डर जेरार्ड पिकेले भने । बायर्न प्रशिक्षक युलियन नागेल्समनले आफ्नो टिम अझै राम्रो हुन सक्ने बताएका थिए ।

खेलमा बार्सिलोनाको एक प्रहार पनि अन टार्गेट रहेको थिएन । उसले क्याम्प नोउमा बिरलै देखिने दृश्यमा निकै कम पासहरु खेलेको थियो र बुधबारसम्म आउदा पछिल्ला तीन युरोपियन घरेलु खेलहरुमा १० गोल खाइसकेको छ ।

मुलरले बार्सिलोनाबिरुद्ध ६ खेलमा ७ गोल गरिसकेका छन् भने लेवान्डोस्कीले लगातार १८ औं खेलमा गोल गरेका छन् । नागेल्स्मनले बायर्न सम्हालेयता लगातार छैटौं पटक जित हात पारेका हुन् ।

Click to comment

Trending