Headline

सन्दिपको घातक बलिङ्ग सामु पिएनजीले घुँडा टेक्यो, नेपालको एकदिवसीयमा ठूलो जित

Published

on

लेग स्पिनर सन्दिप लामिछानेले करिअरकै उत्कृष्ट बलिङ्ग प्रदर्शन गरेपछि लिएपछि नेपालले पपुवा न्यु गिनीलाई दोश्रो एकदिवसीय अन्तर्राष्ट्रियमा १ सय ५१ रनको फराकिलो अन्तरले पराजित गर्दै २ म्याचको श्रृंखला क्लिन स्विप गरेको छ ।

रोहित कुमार पौडेलको म्याराथन इनिङ्गस र करण केसीको आक्रमक ब्याटिङ्गपछि नेपालले मस्क्याटमा पहिलो ब्याटिङ्ग गर्दै ४९ दशमलव ३ ओभरमा अल आउट हुदै २ सय ३३ रनको चुनौतिपूर्ण योगफल खडा गरेको थियो ।

तर सन्दिपको घातक बलिंग सामु धराशायी बनेको पिएनजी २० ओभर पनि टिक्न सकेन । पिएनजी १९ दशमलव १ ओभरमा मात्र ८२ रनमा अल आउट भयो । रन अन्तरको आधारमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा यो अहिलेसम्मकै ठूलो जित हो ।

रन अन्तरको आधारमा नेपालको यसअघिको सबैभन्दा ठूलो जित युएईबिरुद्ध थियो । २०१९ को जनवरीमा नेपालले युएईलाई १ सय ४५ रनले हराएको थियो ।

सन्दिपले ६ दशमलव १ ओभरमा मात्र ११ रन खर्चदै ६ विकेट हात पारे । उनको यसअअघिको उत्कृष्ट प्रदर्शन १६ रनमा ६ विकेट थियो जुन आईसिसि क्रिकेट बिश्वकप लिग टुमा अमेरिकाबिरुद्ध थियो ।

यस्तै बिक्रम सोब, सोमपाल कामी र शुसन भारी श्रेष्ठले पनि १–१ विकेट लिएका थिए । पिएनजीका लागि ओपनर टोनी उराले सर्वाधिक १९ रन बनाए भने चाल्र्स अमिनीले १६ रन जोडेका थिए ।

यसअघि ओपनर कुशल भुर्तेल र आसिफ शेख समान तीन रनमा आउट हुँदा नेपालको जम्मा ९ रन थियो । त्यसपछि रोहित र कप्तान ज्ञानेन्द्र मल्लले नेपाललाई सम्हालेका थिए । रोहितले तेश्रो विकेटका लागि ज्ञानेन्द्रसँग ८९ रनको साझेदारी गरेका थिए ।

यो नेपालको एकदिवसीय इतिहासमा कुनै पनि विकेटका लागि अहिलेसम्मकै ठूलो साझेदारी हो ।

ज्ञानेन्द्रले ७० बलमा ४५ रन बनाए । उनको इनिङ्गसमा तीन चौका र दुई छक्का सामेल थियो । त्यसपछि रोहितले बिनोद भण्डारी (१७) सँग ४१ रन जोडेका थिए ।

कुशल मल्ल (एक) र सोमपाल कामी (११) लामो समय टिक्न नसकेपनि रोहित र करण केसीले ६६ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । निकै आक्रमक ब्याटिंग गरेका करणले २६ बलमा ४२ रन बनाए । उनको इनिङ्गसमा चार छक्का र दुई चौका रहेको थियो ।

नेपालले दुवै ब्याट्स्म्यानलाई दुई बलको अन्तरमा गुमाएको थियो । उसले अन्तिम चार विकेट मात्र एक रनको अन्तरमा गुमाएको थियो ।

रोहितले १ सय २३ बलमा ८६ रन बनाए । तीन छक्का र दुई चौका प्रहार गरेका रोहित पुर्व कप्तान पारस खड्कापछि सबैभन्दा बढी रन जोड्ने ब्याट्स्म्यान बने । पारसले युएईबिरुद्ध १ सय १५ रन बनाएका थिए ।

पपुवा न्यु गिनीका लागि चाड सोपरले तीन विकेट लिए भने नर्मन भनुवा र काबुवा मोरेआले २–२ विकेट हात पारे ।

Click to comment

Trending