Headline

पेलेको किर्तिमान तोड्दै मेस्सी बने दक्षिण अमेरिकाका सर्वाधिक गोलकर्ता

Published

on

दक्षिण अमेरिकी फुटबल इतिहासको सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता बन्ने क्रममा अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले २०२२ कतार बिश्वकप छनोट अन्तर्गत बोलिभियाबिरुद्ध ह्याट्रिक गरेका छन् ।

मेस्सीकै उच्च प्रदर्शनको मद्दतमा अर्जेन्टिनाले बोलिभियामाथि ३–० को सहज जित हात पार्यो । मेस्सीले पेलेको ७७ अन्तर्राष्ट्रिय गोलको बराबरी गरेपछि करिअरको ७८ औं र ७९ औं गोल गरे ।

अर्जेन्टिनाका लागि आफ्नो १ सय ५३ औं खेल खेल्ने क्रममा मेस्सीले १४ औं मिनेटमा टिमलाई अग्रता दिलाएका थिए । यस क्रममा उनले एक बोलिभियन डिफेण्डरलाई नटमेग गर्दै उत्कृष्ट रुपमा घुमाउरो शट प्रहार गर्दै गोल गरे ।

लौटारो मार्टिनेजसँग वान टु पास खेल्दै मेस्सीले बक्स भित्रबाट ६४ औं मिनेटमा पेलेको किर्तिमान तोडे । खेल सकिन दुई मिनेट बाकी रहेको स्थितिमा उनले करिअरको ७९ औं गोल गरे ।

अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा बढी गोल पोचुगिज सुपरस्टार क्रिष्चयानो रोनाल्डोको नाममा रहेको छ । रोनाल्डोले १ सय ८० खेलमा १ सय ११ गोल गरेका छन् ।

आइतबार कोरोना भाइरसले उत्पन्न बिवादका कारण ब्राजिलबिरुद्धको खेल स्थगित भएपछि अर्जेन्टिनाले बिहिबार उत्कृष्ट जित हात पारेको हो ।

इंगलिस प्रिमियर लिग खेलिरहेका जियोभानी लो सेल्सो, क्रिष्चियन रोमेरो, एमिलियानो मार्टिनेज र एमिलियानो बुएन्डियाले ब्राजिलमा कोरोनाको गलत कागज दिएर प्रवेश गरेको आरोप अगाडी आएपछि खेल स्थगित भएको थियो ।

चारै जना खेलाडीको बिहिवार भएको खेलमा भने संलग्नता रहेको थिएन ।

दक्षिण अमेरिकी छनोटमा अपराजित अर्जेन्टिना १८ अंक सहित दोश्रो स्थानमा रहेको छ ।

Click to comment

Trending