Headline

बिश्वकप छनोटः इटाली लगातार ३७ खेलमा अपराजित, लिथुवानीया माथि गोल बर्षा

Published

on

२०२२ बिश्वकप छनौट अन्तरर्गत लिथुवानीयालाई ५–० को भारी अन्तरले पराजित गर्दै इटालीले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो अपराजित यात्रालाई बिश्व किर्तिमानी ३७ खेलसम्म लम्ब्याएको छ ।

यसअघि नै ब्राजिलको ३५ खेलको अपराजित यात्राको किर्तिमान तोडिसकेको युरो कप बिजेता इटालीलाई बुधबार सहज जित दिलाउने क्रममा मोइजे किनले २०१९ पछि आफ्नो पहिलो दुई अन्तर्राष्ट्रिय गोल गरेका थिए ।

यसअघिको खेलमा स्विट्जरल्याण्डसँग बराबरी खेल्दै ३६ खेलमा अपराजित रहेको नयाँ किर्तिमान कायम गरेको इटालीले कमजोर लिथुवानीया बिरुद्ध अपेक्षा अनुसार नै सशक्त प्रदर्शन गर्यो ।

एभर्टनबाट युभेन्टस फर्किएका किनले दुवै गोल पहिलो हाफमै गरेका थिए । एडगरस उट्कुसको आत्मघाती गोल र जियाकाम्पो रास्पाडोरीले पनि गोल गर्दा इटाली पहिलो हाफमै ४–० ले अघि बढ्न सफल भएको थियो ।

प्रमुख खेलाडीहरुलाई बिश्राम दिइएको खेलमा जियोभानी डि लोरेन्जोले पाचौं गोल गरेका थिए । रोबर्टो मान्चिनीको टोलीले दोश्रो स्थानको स्विट्जरल्याण्डसँगको दुरी ६ अंकले लम्ब्याएको छ ।

२०१८ को रुस बिश्वकपमा स्थान बनाउन नसकेको पिडालाई इटाली यस पटक कतारमा खेल्दै भुलाउन चाहिरहेको छ । इटालीले युरो कप जितेपनि उसका समर्थकहरु टोली बिश्वकप छनोटले मात्रै सन्तुष्ट हुनेछन् ।

समुह सी मा स्विट्जरल्याण्डसँग दुई खेल हातमै रहेपनि बेल्फास्टमा नर्दन आयरल्याण्डसँग बराबरीमा रोक्किएपछि उसलाई नराम्रो धक्का लागेको हो । खेलमा ह्यारिस सेफेरोभिचको पेनाल्टीलाई नर्दन आयरल्याण्ड गोलकिपर बेली पिकक–फ्यारेलले बचाएका थिए ।

Click to comment

Trending