राष्ट्रिय

टस हारेर नेपाल पहिले बलिङ गर्दै, बिक्रम, आसिफ र कुशलले डेब्यु गर्ने 

Published

on

पपुवा न्यु गिनीसँगको दुई एकदिवसीय खेलको शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले पहिले बलिङ  गर्ने भएको छ । पपुवा न्यु गिनीले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो ।

आजको खेलमा ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल तथा तिब्र गतिका बलर बिक्रम सोबले एकदिवसीय खेलमा डेब्यु गर्ने भएका छन् । गत बैशाखमा नेपालमा सम्पन्न नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालको लागि डेब्यु गर्दै उत्कृष्ट प्रदर्शन गरेका आसिफ र कुशललाई ओपनरका रुपमा निरन्तरता दिने सोच सहित उनीहरूलाई खेलाउने निर्णय लिएको हो । त्यस्तै लामो समय पछि राष्ट्रिय टोलीमा स्थान बनाएका बिक्रमले पनि डेब्यु गर्ने अवसर पाएका हुन् ।

आजको खेलमा नेपाली टोलीका कप्तान दिपेन्द्र सिंह ऐरी नखेल्ने भएका छन् । गत आइतबार अभ्यासका क्रममा फिल्डिङ गर्दा उनले गोलीगाँठोमा चोट बोकेका थिए । उनको चोट ठुलो नभए पनि विश्वकप छनोटलाई मध्यनजर गर्दै उनलाई आराम दिइएको हो ।

आजको खेलमा चोटका कारण दिपेन्द्र सिंह ऐरीलाई बिश्राम दिइएको छ भने विकेट किपर ब्याट्सम्यान बिनोद भण्डारी, करण केसी र सुशन भारी पनि टोलीमा छैनन् ।

विश्वकप लिग टु अन्तर्गत ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक शृंखला खेल्नु अघि नेपालले पपुवा न्यु गिनीसँग दुई खेलको शृंखला खेल्न लागेको हो ।

नेपाल र पपुवा न्यु गिनी यस अघि चार पटक एक आपसमा भिड्दा नेपालले एक पटक मात्र जित हात पार्न सकेको छ । नेपालले पछिल्लो पटकको भेटमा पपुवा न्यु गिनीलाई पराजित गरेको थियो भने अघिल्ला तीन खेलमा पराजित भोगेको थियो । सन् २०१८ मा जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोट अन्तर्गतको खेलमा  नेपालले पपुवा न्यु गिनीलाई छ विकेटले पाखा लगाएको थियो ।

नेपाली टोली – ज्ञानेन्द्र मल्ल (कप्तान), शरद भेषावाकर, कुशल भुर्तेल, आसिफ शेख, सन्दिप लामिछाने, सोमपाल कामी, बिक्रम सोब, रोहित कुमार पौडेल, कुशल मल्ल, पवन सर्राफ, आरिफ शेख

 

Click to comment

Trending