Headline

भारतसँगको हारमा नेपालको सन्तोषजनक प्रदर्शन

Published

on

नेपाल उत्कृष्ट प्रदर्शन गर्दा गर्दै भारतबिरुद्धको दोश्रो मैत्रीपूर्ण खेलमा २–१ ले पराजित भएको छ । दशरथ रंगशालामा पहिलो खेलको तुलनामा उत्कृष्ट प्रदर्शन गरेको नेपालबिरुद्ध फारुख चौधरी र सुनिल क्षेत्रीले गोल गरेका थिए ।

तेज तामाङ खेल सकिन पांच मिनेट बाकीं रहदा उत्कृष्ट गोल गर्दै नेपालको लागि सान्त्वना गोल गरेका थिए । खेलमा बलियो पकड नेपालले नै बनाएको थियो । भारतको हरेक मुभलाई उत्कृष्ट डिफेण्ड गर्दै नेपालले खाएको दुवै गोलमा भारतलाई भाग्यले साथ दिएको थियो ।

१३ औं मिनेटमा नेपालले गोल गर्ने सुनौलो अवसर गुमायो । भारतको डिफेन्सले बल क्लियर गर्न नसकेको स्थितिको फाइदा उठाउदै सुमन लामाले मनिष डाँगीलाई बक्स भित्र राम्रो पास दिएका थिए । गोलकिपरलाई मात्र बिट गर्नु पर्ने मौकामा मनिषले बल माथिको नियन्त्रण गुमाउन पुगेका थिए ।

मनिषले पास निकाल्न सक्षम भए पनि आशिष लामाले बल नियन्त्रणमा लिन सकेका थिएनन् । नेपालले कर्नर त पायो तर तेज तामाङले निकै फितलो क्रस निकाल्दै अवसर खेर फालेका थिए ।

२७ औं मिनेटमा आयुष घलानले निकालेको सुन्दर क्रसमा आशिष पोस्ट नजिकै हेडर मार्फत गोल गर्न चुकेका थिए ।

लगत्तै भारतका लागि अनिरुद्ध थापाले निकालेको क्रसलाई नेपाली डिफेन्सले फर्काएको थियो । मध्यान्तर अघि भारतीय कप्तान सुनिल क्षेत्री र नेपालका लागि आयुषले अवसर खेर फालेका थिए ।

६२ औं मिनेटमा सब्स्टिच्युट फारुख चौधरीले नेपाली डिफेन्सको गल्तिको फाइदा उठाउदै बक्स भित्रबाट सहज गोल गरेका थिए । ६ मिनेटपछि नै प्राप्त सुनौलो अवसरमा नवयुग श्रेष्ठले निकालेको पासमा बिशाल राईले नजिकैबाट गोल गर्न चुकेका थिए ।

७४ औं मिनेटमा मनिषले अर्को बराबरीको अवसर खेर फाले । अञ्जन बिष्टले निकालेको क्रसका लागि भारतीय गोल पोस्ट अगाडी पुगेपनि गोललाइन नजिकैबाट बाहिर प्रहार गरेका थिए ।

८१ औं मिनेटमा सुनिलले भारतको अग्रता दोब्बर बनाए । नेपालले पाएको फ्रि किक पछि बनेको काउन्टर मुभमा सुनिलले एक्लै बल लिएर जादै वान भर्सेस वानको स्थितिमा किरणलाई बिट गर्दै गोल गरेका थिए ।

यसअघि कैयौं शटहरु खेर फालेका तेज तामाङले ८५ औं मिनेटमा सनसनीपूर्ण गोल गर्दै नेपालको झिनो आशालाई कायम राखेका थिए । तेजले करिब २५ यार्डबाट सशक्त प्रहार गर्दै नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए ।

खेलमार्फत गोलकिपर बिशाल श्रेष्ठले नेपालको लागि डेब्यु पनि गरेका थिए ।

Click to comment

Trending