अन्तर्राष्ट्रिय

हमिद र बर्न्सको अर्धशतकमा पहिलो दिनमा नै इंग्ल्यान्डलाई अग्रता 

Published

on

ओपनरद्वय हसिब हमिद र रोरी बर्न्सले अर्धशतक प्रहार गरे पछि घरेलु टोली इंग्ल्यान्डले भारत विरुद्धको तेश्रो टेस्टको पहिलो दिनमा नै ४२ रनको अग्रता लिन सफल भएको छ । 

बलरहरु हाबी हुँदा भारतलाई उसको पहिलो पारीमा मात्र ७८ रनमा अलआउट पारेको इंग्ल्यान्डले पहिलो दिनको खेलको समाप्तिमा ४२ ओभर खेल्दै १२० रन बनाएको छ उसको हातमा अझै १० विकेट नै रहेको छ । 

पहिलो दिनको समाप्तिमा इंग्ल्यान्ड हमिद १३० बल खेल्दै ६० तथा बर्न्स १२५ बलमा ५२ रनमा अविजित रहेका छन् ।  

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको भारतले मात्र ४० दशमलब चार ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर ७८ बनाएको हो ।

भारतको तर्फबाट ओपनर रोहित शर्माले सर्वाधिक १९ तथा अजिंक्य रहानेले १८ रन बनाए भने बाँकी कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

ओपनर केएल राहुललाई शून्यमा गुमाएर निकै खराब सुरुवात गरेको भारतका चेतेश्वर पुजारा एक, कप्तान विराट कोहली सात, विकेट किपर ब्याट्सम्यान रिशब पन्त दुई तथा रविन्द्र जडेजा चार रनमा आउट भए । मोहम्मद शामी र जस्प्रित बुम्रा गोल्डेन डकआउट भए भने मोहम्मद सिराजले तीन रन जोड्दा इशान्त शर्मा आठ रनमा अविजित रहे ।

भारतलाई सस्तोमा रोक्ने क्रममा जेम्स एन्डरसन र क्रेग ओभरटनले समान ३-३ तथा ओली राबीनसन र साम कर्रणले समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए । जेम्स एन्डरसनले घातक बलिङ गर्दै आठ ओभरमा पाँच मेडन ओभर सहित मात्र छ रन खर्चिएर सुरुवाती तीन विकेट लिएका हुन् भने ओभरटनले १० दशमलब चार ओभरमा १४ रन मात्र दिए ।

पाँच खेलको शृंखलामा भारत १-० ले अघि रहेको छ । पहिलो टेस्ट बराबरीमा सकिएको थियो भने दोश्रो टेस्टमा भारतले इंग्ल्यान्डलाई १५१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।          

  

Click to comment

Trending