अन्तर्राष्ट्रिय

एट्लेटिकोको लगातार दोस्रो जित

Published

on

साविक विजेता एट्लेटिको म्याड्रिडले स्पेनि ला लिगामा लगातार दोस्रो जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा एट्लेटिकोले इल्चेलाई १–० गोलले हरायो । एट्लेटिकोको जितमा अर्जेन्टिनी स्ट्राइकर एन्जल कोर्रिया नायक बने । 

एन्जलले ३९औं मिनेटमा रोड्रिगो डे पउलको पासमा गोल गरेका थिए । २६ बर्षीय एन्जलले एट्लेटिकोमा सानदार प्रदर्शन गरिरहेका छन् । उनले यस अघिल्लो खेलमा पनि दुई गोल गरेका थिए । लिगको पहिलो खेलका एन्जलकै दुई गोल सहयोगमा एट्लेटिकोले सेल्टाभिगोलाई २–१ गोलले स्तब्ध बनाएको थियो । 

इल्चेविरुद्ध कठिन जित निकालेको एट्लेटिकोले ५८ प्रतिशल बल पोसेसन राखेको थियो । तर एट्लेटिकोले चार वटा मात्र पोस्ट प्रहारको अवसर बनाएको थियो । यता ४२ प्रतिशत बल पोसेसनमा राख्न सफल इल्चेको आठ वटा पोस्ट प्रहार विफल बन्यो । एट्लेटिकोका एन्जल कोर्रिया ‘म्यान अफ दी म्याच’ भए । जितसँगै ६ अंक बनाएको एट्लेटिको शीर्षस्थानमा छ । लिगमा पहिलो हार खेपेको इल्चे एक अंक सहित १६औं स्थानमा छ । पहिलो खेलमा इल्चे एथलेटिक बिल्बाओसँग गोलरहित बराबरीमा रोकिएको थियो । 

यसैगरी अर्को खेलमा ब्राजिलका स्ट्राइकर भिनिसियस जुनियरले दुई गोल गरेपछि रियल म्याड्रिड हारबाट जोगिएको छ । रियलले १० खेलाडीमा सिमित लिभान्तेसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । लिभान्तेको घरेलु मैदानमा खेलिएको प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता रियलले लिएको थियो । पाँचौ मिनेटमा ग्यारेथ बेलले गोल गर्दै पाहुना टोलीको उत्साह जगाए । 

बेलले करिम बेन्जेमाको पासमा गोल गरेका थिए । पहिलो हाफमा १–० गोलको अग्रता लिएको रियलले दोस्रो हाफको शुरुमै दुई गोल खायो । ४६औं मिनेटमा रोजरले गोन्जालो मेरेलोको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ५७औं मिनेटमा जोसे क्याम्पानाले जर्ग डे फ्रुटोसको पासमा गोल गर्दै लिभान्तेलाई अगाडी बढाए । ७३औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याए । उनले कासेमिरोको पासमा गोल गरेका थिए । ७९औं मिनेटमा रोवेरले गोल गर्दै लिभान्टेलाई फेरि अग्रता दिलाए । 

त्यसपछि भिनिसियसले ८५औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए । भिनिसियसले करिम बेन्जेमाको पासमा गोल गर्दै टोलीलाई हारबाट जोगाएका थिए । ८७औं मिनेटमा अइटोर रातो कार्ड पाउँदै बाहिरिएपछि लिभान्ते १० खेलाडीमा समेटिएको थियो । तर रियलले त्यसको फाइदा उठाउन सकेन । लिभान्तेका गोन्जालो मेलेरो ‘म्यान अफ दी म्याच’ भए । यस बराबरीसँगै चार अंक बनाएको रियल दोस्रो स्थानमा छ । लिगमा दोस्रो बराबरी खेलेको लिभान्ते दुई अंक सहित आठौं स्थानमा छ । 

आइतबार रातिनै भएको अर्को खेलमा रियल सोसिडाडले रायो भालेकानोलाई १–० गोलले हरायो । घरेलु मैदानमा सोसिडाडलाई जिताउन माइकल ओयरर्जाबलले निर्णायक गोल गरे । माइकलले ६८ओं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । पहिलो जितसँगै तीन अंक बनाएको सोसिडाड सातौं स्थनमा छ । दुवै खेलमा पराजित रायो भालेकानो अन्तिममा छ । ला लिगा अन्तर्गत सोमबार राति सेभिया र गेटाफे तथा ओसासुना र सेल्टाभिगोबीच प्रतिस्पर्धा हुनेछ । 

Click to comment

Trending