अन्तर्राष्ट्रिय

शामी र बुम्राको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्ड माथि भारतको सनसनीपूर्ण जित  

Published

on

आफ्नो दोश्रो पारीमा तिब्र गतिका बलरहरु मोहम्मद शामी र जस्प्रित बुम्राको उत्कृष्ट ब्याटिङ तथा बुम्रा र मोहम्मद सिराजले सात बलको अन्तरालमा अन्तिम तीन विकेट निकाल्दा भारतले घरेलु टोली इंग्ल्यान्डलाई दोश्रो टेस्टमा १५१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यस जितसँगै भारतले पाँच टेस्टको शृंखलामा १-० को अग्रता कायम गरेको छ । पहिलो टेस्ट भने बराबरीमा टुंगिएको थियो ।  

जितका लागि अन्तिम दुई सेसनमा २७२ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्डले पाँचौं तथा अन्तिम दिनको खेलको समाप्ति हुनु केही ओभर अघि मात्र आफ्ना सबै विकेट गुमाएर १२० रन बनाउन सक्यो । 

टेस्ट बराबरी तर्फ लम्की रहेको अवस्थामा जस्प्रित बुम्राले र मोहम्मद सिराजले सात बलको अन्तरालमा क्रमश एक र दुई विकेट निकाल्दै भारतलाई रोमान्चक जित दिलाएका हुन् ।  

 खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ओपनर केएल राहुलको १२९ तथा अर्का ओपनर रोहित शर्माको ८३ रनको मद्दतमा आफ्ना सबै विकेट गुमाएर ३६४ रन बनाउन सक्यो भने जबाफी ब्याटिङ गरेको इंग्ल्यान्डका कप्तान जो रुटले अविजित १८० रन प्रहार गर्दा इंग्ल्यान्डले ३९१ रन बनायो र २७ रनको झिनो अग्रता लिन सफल भयो ।  

आफ्नो दोश्रो पारीमा एक समय २०९ रनमा आठ विकेट गुमाएर हार तर्फ लम्केको भारतको लागि जस्प्रित बुम्रा र मोहम्मद शामीले नवौ विकेटका लागि ८९ रनको साझेदारी गर्दा भारतले आठ विकेटको नोक्सानीमा २९८ रन बनाउँदै आफ्नो पारी सकिएको घोषणा गर्यो । दोश्रो पारीमा शामीले अविजित ५६ तथा बुम्राले पनि अविजित रहँदै ३४ रनको पारी खेले । 

दोश्रो पारीमा इंग्ल्यान्डलाई सस्तैमा रोक्ने क्रममा मोहम्मद सिराजले सर्वाधिक चार विकेट लिए भने जस्प्रित बुम्रा र इशान्त शर्माले क्रमश तीन र दुई विकेट हात पारे ।   

Click to comment

Trending