अन्तर्राष्ट्रिय

अहमदले घातक बलिङ गर्दा अष्ट्रेलियाको लज्जास्पद हार 

Published

on

नसुम अहमदले घातक बलिङ गर्दै मात्र १९ रन खर्चिएर चार विकेट हात पारे पछि अष्ट्रेलियाले घरेलु टोली बंगलादेश विरुद्धको पहिलो ट्वान्टी ट्वान्टी खेलमा २३ रनको लज्जास्पद हारको सामना गरेको छ । जितसंगै बंगलादेशले पाँच खेलको शृंखलामा १-० को अग्रता पनि लिन सफल भएको छ । 

बंगलादेशले दिएको १३२ रनको सानो लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र १०८ रन बनाउन सक्यो ।

सुरुवात देखि नै लगातार रुपमा विकेट गुमाएको अष्ट्रेलियाको लागि मिचेल मार्शले ४५ बलमा ४५ रनको पारी खेले पनि आफ्नो टोलीलाई जित दिलाउनका लागि पर्याप्त रहेन । अष्ट्रेलियाका तीब्र गतिका बलर मिचेल स्टार्कले १४ तथा कप्तान म्याथ्यु वेडले १३ रनको पारी खेले भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । अष्ट्रेलियाले आफ्नो पारीको पहिलो बलमा नै ओपनर एलेक्स केरीलाई गुमाएर निकै खराब सुरुवात गरेको थियो ।

बंगलादेशको जितमा खेलको म्यान अफ द म्याच घोषित अहमदले चार ओभरमा मात्र १९ रन खर्चिएर चार विकेट हात पारेका हुन् भने मुस्ताफिजुर रहमान र शोरिफुल इस्लामले पनि समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा मात्र १३१ रनको सानो योगफल बनाउन सक्यो ।

ओपनर सौम्य सरकार दुई रनमा आउट हुँदा निकै खराब सुरुवात गरेको बंगलादेशको लागि तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका शकिब अल हसनले ३३ बलमा ३६ तथा अर्का ओपनर मोहम्मद नैमले ३० रन जोड्दै आफ्नो टोलीको पारी सम्हाल्ने प्रयास गरे ।

शकिब र नैम बाहेक अफिफ होसेनले २३ तथा कप्तान महमदउल्लाहले २० रन जोडे भने त्यस बाहेकका ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बंगलादेशलाई सस्तोमा रोक्ने क्रममा जश हेजलउडलेचार ओभरमा सर्वाधिक तीन विकेट लिए भने मिचेल स्टार्कले दुई तथा एडम जाम्पा र एन्ड्रयु टेइले सामना १-१ विकेट आफ्नो नाममा दर्ता गराए । 

 

Click to comment

Trending