राष्ट्रिय

दुई महिना पछिलाई सर्यो लिग, विजेताले ७५ लाख पाउने 

Published

on

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस वर्षको शहीद स्मारक ए डिभिजन लिग नोभेम्बर १५ अर्थात कार्तिक २९ गतेबाट आयोजना गर्ने भएको छ । 

एन्फा कम्प्लेक्समा आज एन्फा र ए डिभिजन क्लबका प्रतिनिधिहरूको बैठकले यस अघि असोजमा हुने भनिएको लिग कार्तिकमा सार्ने निर्णय गरेको हो । असोज तीनबाट सुरु गर्ने भनिएको लिग साफ च्याम्पियनसिप र कोरोनालाई ध्यानमा राख्दै मिति सर्ने भएको हो ।

एन्फाले नेपालमा साफ च्याम्पियनसिप आयोजना गर्नका लागि नेपाल सरकारले पाँच करोड दिने भए पछि त्यसका लागि आवश्यक कामहरू सुरु गर्दैछ । साफ च्याम्पियनसिप यसै वर्ष अक्टोबरमा आयोजना हुनेछ ।

त्यस्तै आजको बैठकले लिग विजेतालाई ७५ लाख पुरस्कार राशि दिने पनि निर्णय गरेको छ । अघिल्लो पटकको विजेताले ५० लाख हात पारेको थियो भने यस पटक पुरस्कार राशिमा २५ लाख बढाइएको छ । लिगमा दोश्रो र तेश्रो हुने टोलीले क्रमश ५० र २५ लाख जित्ने छन् भने सबै टोलीले २० लाख एन्फाबाट तयारी खर्च पनि प्राप्त गर्नेछन् ।

१४ टोली सम्मिलित लिग सिंगल राउन्ड रोबिन आधारमा खेलाइने भएको छ । यस अघि लिगको अंक तालिकाको माथिल्लो आठ र तल्लो छ बीच दुई प्रकारको अर्को लिग खेलाउने र त्यसैबाट विजेता र रेलेगेसन छुट्टाउने जनाए पनि कोरोनाको अवस्थालाई ध्यानमा राख्दै सिंगल राउन्ड रोबिन आधारमा खेलाउने निर्णय पनि आजको बैठकले लिएको छ ।

अंक तालिकाको पुछारमा रहने दुई टोली बि डिभिजनमा घटुवा हुनेछन् ।     

अघिल्लो संस्करणको लिग मछिन्द्र क्लबले जितेको थियो ।    


 

Click to comment

Trending