अन्तर्राष्ट्रिय

डिकवेला, मेन्डिस र गुनथिलकालाई एक वर्षको प्रतिबन्ध 

Published

on

श्रीलंका क्रिकेट बोर्डले निरोशन डिकवेला, कुसल मेन्डिस र धनुश्का गुनथिलकालाई एक वर्षका लागि अन्तर्राष्ट्रिय क्रिकेटबाट प्रतिबन्ध लगाउने निर्णय गरेको छ । त्यस बाहेक बोर्डले उनीहरूलाई छ महिनाका लागि राष्ट्रिय प्रतियोगिताहरूबाट पनि प्रतिबन्ध लगाउनुको साथै ५० हजार अमेरिकी डलर पनि जरिवाना लगाउने भएको छ ।  

इंग्ल्यान्ड भ्रमणमा रहेका समय तीन जनाले बायो बबलको नियम तोड्दै घुम्न निक्लिएका थिए । सार्वजनिक भएको एक भिडियोमा मेन्डिस र डिकवेला देखा परेका थिए भने गुनाथिलका भिडियोमा देखा नपरेको भए पनि तीन जना सँगै घुम्न निक्लिएका थिए । त्यस पछि उनीहरूलाई तत्काल श्रीलंका फिर्ता पठाइएको थियो भने हाल सम्म निलम्बनमा रहेका थिए । 

बायो बबलमा रहेका खेलाडीहरूलाई केही स्थानमा जानका लागि छुट भए पनि सिटी सेन्टरमा जानका लागि भने छुट थिएन । तर तीन जनाले उक्त नियमको उल्लंघन गर्दै सिटी सेन्टर नै पुगेका थिए । त्यस्तै उनीहरूले मास्क नाकमा नलगाएर आफ्नो हातमा बोकेर हिँडेका थिए ।

उनीहरूलाई एक वर्षको लागि प्रतिबन्ध लगाइए पनि अर्को दुई वर्षको परिक्षण समय पनि तोकिएको छ । जसका कारण उक्त दुई वर्षमा उनीहरु बोर्डले तोकेको नियमहरू उल्लंघन गरेको खण्डमा कुनै पनि समय निलम्बनमा पर्न सक्ने छन् ।

उक्त घटना विरुद्ध छानबिन गर्नका लागि बनेको छानबिन समितिले मेन्डिस र गुनथिलकालाई समान २-२ वर्ष तथा डिकवेलालाई १८ महिना प्रतिबन्ध गर्न सिफारिस गरेको भए पनि बोर्डले सबैलाई १-१ वर्षको निलम्बन गरेको हो । 

Click to comment

Trending