राष्ट्रिय

अलमुताईरी र नेम्बांग बीचको विवादमा एन्फाले मन्त्रालयको सहयोग लिने   

Published

on

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र अखिल नेपाल फुटबल संघ (एन्फा) का बरिष्ठ उपाध्यक्ष पंकज नेम्बांग बीचको विवाद समाधान गर्नका लागि एन्फाले नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने भएको छ । 

अलमुताईरीले हिजो मात्र नेम्बांग र दुई सञ्चारकर्मीबिरुद्ध निष्पक्ष छानविन गर्न माग गर्दै एन्फामा निवेदन दिएका थिए । एन्फाको आज बसेको कार्यसमितीको बैठकले दुई बीचको विवाद समाधान गर्न असफल भए पछि मन्त्रालयको सहयोग लिन लागेको हो ।  

अलमुताइरीले केही दिन अघि नेम्बांगको कारण आफू राजीनामा दिन गइरहेको भन्दै फेसबुक स्ट्याटस लेख्दा नेपाली फुटबल तरंगित हुँदै आएको छ ।

अब्दुल्लाहले तीन साता देखि नेम्बांगले आफूलाई तनाव दिइरहेको बताउँदै उनकै कारणले राजीनामा दिने बताएका थिए । तर एन्फा नेतृत्वले उनलाई राजीनामा नदिन आग्रह गरेको थियो ।

नेम्बांगले आफुबिरुद्ध अब्दुल्लाह खनिनु निराधार रहेको र घटनाको छानविन गर्न त्यही दिन नै माग गरेका थिए । उनले आफ्नो गल्ति देखिएमा पदबाट समेत राजीनामा दिने बताएका थिए ।

यस्तै एक अनलाइनका दुई संचारकर्मीबिरुद्ध पनि छानविन गर्न अब्दुल्लाहले माग गरेका हुन् । एन्फामा प्रशिक्षणका दौरान विश्राम लिदै कम्पाउण्ड बाहिर निक्लँदै धूम्रपान गरेको विषयमा प्रश्न गर्दा अब्दुल्लाहले आफुहरुलाई दुर्व्यवहार गरेको भन्दै दुई सञ्चारकर्मीले विरोध जनाएका थिए । उनीहरुले पनि एन्फालाई यो विषयमा छानविन गर्न माग गरेका थिए । 

त्यस्तै एन्फाले नेपालमा साफ च्याम्पियनसिप आयोजना गर्नका लागि नेपाल सरकारले पाँच करोड दिने भएका कारण यसका लागि अब साफमा पहल गर्ने पनि निर्णय लिएको छ । एन्फाले आफ्नै घरेलु मैदानमा साफ च्याम्पियनसिप आयोजना गर्न पहल गर्ने भए पछि साफको तयारीका लागि हाल बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीको लागि मैत्रीपूर्ण खेल खेल्न भारत, बंगलादेश, सिंगापुरसँग पत्राचार जारी रहेको र यसका लागि आयोजना र सहभागिता जनाउन आवश्यक पहल गर्ने पनि निर्णय लिएको छ ।     

त्यस बाहेक भारतमा अर्को वर्ष आयोजना हुने एएफसी वुमन्स एसिया कपको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीको मैत्रीपूर्ण खेलका लागि इरान लगायत अन्य देशलाई पनि पहल गर्ने निर्णय लिएको छ ।


 

 

Click to comment

Trending