अन्तर्राष्ट्रिय

भारत माथि श्रीलंकाको रोमान्चक जित 

Published

on

घरेलु टोली श्रीलंकाले भारत विरुद्धको दोश्रो ट्वान्टी ट्वान्टी खेलमा चार विकेटको रोमान्चक जित दर्ता गराएको छ । जितसँगै श्रीलंकाले तीन खेलको शृंखला १-१ को बराबरीमा पनि पुर्याउन सफल भएको छ ।  

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १३२ रनको झिनो योगफल मात्र बनाउन सक्यो भने जबाफी ब्याटिङ गरेको श्रीलंकाले छ विकेट गुमाएर दुई बल अगाडि जित आत्मसाथ गर्यो । 

श्रीलंकाको जितमा ३४ बलको सामना गरेका धनन्जय डि सिल्भाले अविजित रहँदै सर्वाधिक ४० रन बनाए भने विकेट किपर तथा ओपनर मिनोद भानुकाले पनि ३६ रनको पारी खेले । सानो लक्ष्य पक्ष्याए पनि लगातार रुपमा विकेट गुमाउँदा दबाबमा आए पनि सिल्भाले श्रीलंकालाई रोमान्चक जित दर्ता गराए ।   

भारतको लागि ओपनरद्वय रुतुराज गायकवाड र शिखर धवनले पहिलो विकेटको लागि सात ओभरमा ४९ रन जोड्दै राम्रो सुरुवात दिए । २१ रन बनाएका गायकवाड आउट भए पछि आएका देवदत्त पडिकलले कप्तान धवनसँग मिलेर ३२ रनको साझेदारी गर्दै भारतको पारी सम्हाल्ने प्रयास गरे पनि सर्वाधिक ४० रन बनाएका धवन र २९ रनको पारी खेलेका पडिकलको विकेटको पतन पछि भारत सम्हालिन सकेन ।

ब्याट्सम्यानको कमीका कारण छैटौँ नम्बरमा ब्याटिङ गर्न आएका तिब्र गतिका बलर भुवनेश्वर कुमार र नवदीप सैनी क्रमश १२ र एक रनमा अविजित रहे भने नितिश रानाले नौ तथा विकेट किपर ब्याट्सम्यान सन्जु सामसनले सात रन भन्दा जोड्न सकेनन् ।

श्रीलंकाका अकिला धनन्जयले सर्वाधिक दुई विकेट हात पारे भने आजको खेलमा डेब्यु गरेका रमेश मेन्डिस विकेट बिहिन  रहे पनि किफायती बलिङ गर्दै दुई ओभरमा मात्र नौ रन खर्चिए ।

भारतीय टोलीका अलराउण्डर कुर्नाल पान्ड्यालाई कोरोना संक्रमण हुँदा एक दिन पछि भएको खेलमा भारतले आज पाँच जना मात्र ब्याट्सम्यानलाई मैदानमा उतार्न सफल भएको थियो । कुर्नालसँग नजिक सम्पर्कमा रहेका आठ जना खेलाडी आइसोलेसनमा बस्दा भारतले पाँच जना ब्याट्सले खेलेको थियो भने आजको खेलमा चार जनाले डेब्यु गर्ने मौका पाएका थिए । 

 

Click to comment

Trending