अन्तर्राष्ट्रिय

१८ बलमा छ विकेट गुमाउँदा श्रीलंकाको लज्जास्पद हार 

Published

on

१५ रनको अन्तरालमा छ विकेट गुमाउँदा घरेलु टोली श्रीलंकाले भारत विरुद्धको पहिलो ट्वान्टी ट्वान्टी खेलमा ३८ रनको लज्जास्पद हारको सामना गरेको छ । जितसँगै भारतले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ ।

जितका लागि १६५ रनको मध्यम लक्ष्य पछ्याएको श्रीलंका एक समय १५ दशमलब दुई ओभरमा चार विकेटको नोक्सानीमा १११ रनको अवस्थामा रहेको थियो । तर मात्र १८ बलको अन्तरालमा १५ रन जोड्दा छ विकेट गुमाउँदा श्रीलंका १८ दशमलब तीन ओभरमा १२६ रनमा नै अल आउट हुन पुग्यो ।

श्रीलंकाको तर्फबाट आजको खेलबाट ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका चरिथ असलंकाले २६ बलको सामना गर्दै समान ३-३ चौका र छक्काको मद्दतमा सर्वाधिक ४४ रन जोडे भने ओपनरद्वय अभिश्का फर्नान्डोले पनि २६ रनको योगदान दिए ।

असलंकाको विकेटको पतन पछि श्रीलंकाको बाँकी विकेट पनि लगातार खस्न जाँदा जित तर्फ लम्केर पनि हारको सामना गर्न बाध्य भयो ।

श्रीलंकालाई पराजित गर्ने क्रममा भुवनेश्वर कुमारले तीन दशमलब तीन ओभर बलिङ गर्दै मात्र २२ रन खर्चिएर सर्वाधिक चार विकेट लिए भने दिपक चाहारले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए ।    

खेलमा श्रीलंकाले टस जित्यो र भारतलाई पहिले ब्याटिङ गर्न लगायो । आफ्नो पारीको पहिलो बलमा नै ओपनर पृथ्वी श शून्य रनमा नै आउट भए पनि सुर्यकुमार यादवको अर्धशतकको मद्दतमा भारतले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १६४ रनको योगफल तयार पार्यो ।  

पहिलो बलमा नै विकेट गुमाएर दबाबमा परेको भारतको लागि कप्तान शिखर धवन र २० बलको सामना गर्दै २७ रन बनाएका सन्जु सामसनले दोश्रो विकेटको लागि ३० बलमा ५१ रन जोड्दै पारी सम्हाले । 

सामसनको विकेटको पतन पछि क्रिजमा आएका सुर्यकुमार यादवले आक्रामक पारी खेल्न सुरु गरे । उनले तेश्रो विकेटका लागि ३६ रन बनाएका कप्तान धवनसँग मिलेर ४८ बलमा ६२ रन जोड्दै भारतलाई तीन अंकको स्कोर पार गराए ।

धवन आउट भए पछि ३४ बलको सामना गर्दै पाँच चौका र दुई छक्काको मद्दतमा आफ्नो अर्धशतक पुरा गरेका यादव पनि पेभेलियन फर्किए । विकेट किपर ब्याट्सम्यान इशान किशानले १४ बलमा अविजित २० रन जोड्दै भारतलाई चुनौतिपूर्ण योगफल सम्म डोर्याए ।

 श्रीलंकाका दुश्मन्था चमेरा र वानिन्दु हसरंगाले समान २-२ विकेट हात पारे । 

 

Click to comment

Trending