राष्ट्रिय

नेपाली क्रिकेट टोलीले अर्को साताबाट अभ्यास सुरु गर्ने 

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी साताबाट अभ्यास सुरु गर्ने भएको छ । वर्ल्ड क्रिकेट लिग टु अन्तर्गत घरेलु टोली ओमान, नेपाल र अमेरिका सम्मिलित त्रिकोणात्मक शृंखला आयोजना हुने भए पछि नेपाली टोलीले त्यसलाई लक्षित गर्दै अभ्यास सुरु गर्ने भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस बारेमा आधिकारिक जानकारी नगराए पनि खेलाडीहरुलाई भने आगामी साताबाट आधिकारिक रुपमा अभ्यास सुरु गर्ने जनाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले ओमान शृंखलाको आधिकारिक मिति तय नगरेको भए पनि सेप्टेम्बरमा हुने सार्वजनिक भएको छ । यसै शृंखलाका लागि भनेर अमेरिकाले केही समय अघि नै अभ्यास सुरु गरेको समाचार सार्वजनिक भएको थियो ।  

यसै महिनाको २० तारिकबाट स्पेनमा आयोजना हुने भनिएको लिग टु अन्तर्गतको नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित शृंखला रद्द भए पछि नेपाली खेलाडीहरु आफ्नै हिसाबले टियुमा नै अभ्यास गर्दै आएका छन् । क्यानले उक्त शृंखलाका लागि भनेर अभ्यास सुरु गरे पनि शृंखला रद्द हुँदा बन्द प्रशिक्षण पनि रोक्ने निर्णय गरेको थियो ।

यस अघि क्यानले स्पेनमा हुने शृंखलाका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा २० जनालाई बन्द प्रशिक्षणमा राखेको थियो । जसमा कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, पारस खड्का, दिपेन्द्र सिंह ऐरि, कुशल मल्ल, बिनोद भण्डारी, करण केसी, सन्दिप लामिछाने, पवन शर्राफ, बिक्रम सोब, साहब आलम, सुशन भारी श्रेष्ठ, सन्दिप जोरा, कमल सिंह ऐरी, अविनाश बोहोरा, सोमपाल कामी रहेका थिए ।

बन्द प्रशिक्षणका लागि बोलाइएका पृथु बास्कोटा अमेरिकामा रहेका र कोरोनाका कारण तत्काल प्रशिक्षणमा उपलब्ध हुन नसक्ने भए पछि आफ्नो नाम फिर्ता लिएका थिए ।

क्यानले ओमानमा हुने शृंखलाका लागि पनि त्यही टोलीलाई नै निरन्तरता दिने छ ।     

त्यस्तै स्पेनमा हुने भनिएको शृंखला रद्द भएको केहि समय पछि नै श्रीलंका फर्किएका प्रशिक्षक डेव ह्वाटमोर पनि यसै साता नेपाल फर्कने भएका छन् ।

Click to comment

Trending