Headline

इजरायलीसंग सामना नगर्न अल्जेरियन जुडो खेलाडीले ओलम्पिक्स त्यागे

Published

on

अल्जेरियाका जुडो खेलाडी फेथी नुरिन इजरायली प्रतिस्पर्धी पर्नेसम्भावनालाई मध्येनजर गर्दै टोकियो ओलम्पिक्स त्यागेपछि निलम्बनमा परेका छन् ।

नुरिनले अन्तिम ३२ मा इजरायली जुडोका पोटपोल ताहरसंग सामना गर्न सक्नु पर्ने देखेपछि ओलम्पिक्समा सहभागिता नजनाउनेनिर्णय लिएका थिए । यो निर्णयपछि नुरिन र उनका प्रशिक्षक अमार बेनिख्लेफलाई अस्थायी रुपमा निलम्बन गरिएको थियो ।

अन्तर्राष्ट्रिय जुडो महासंघले अल्जेरियन खेलाडी र उनका प्रशिक्षक प्रतिबन्धमा पर्नु जायज रहेको र अब थप अन्य प्रतियोगिताहरुमा सहभागिता जनाउन बाट रोक लगाउन सक्ने बताएको छ ।

नुरिनले सोमबार पुरष ७३ केजी स्पर्धाको पहिलो चरणमा सुडानका मोहमद अब्दलरसुलको सामना गर्न गइरहेका थिए । उनले जितेको खण्डमा पहिलो चरणमा बाइ पाएका ताहरको सामना दोश्रो चरणमा गर्ने थिए ।

अल्जेरियन ओलम्पिक कमिटीले अब उनलाई टोकियोबाट घर पठाउने निर्णय लिइसकेको छ ।

नुरिनले स्पष्ट रुपमा प्यालेस्टाइनलाई राजनैतिक समर्थन गर्दै निर्णय लिएको बताएका छन् । “हामीले ओलम्पिक पुग्नका लागि धेरै मिहिनेत गरेका थियौं तर प्यालेस्टाइनको मुद्दा यो सबै कुराभन्दा ठूलो छ । यो मेरो अन्तिम निर्णय हो,” नुरिनले भनेका थिए ।

अरबी मुलुकहरुले इजरायली खेलाडीहरु बिरुद्धको कुनै पनि खेल बहिष्कार गर्ने नीति अवलम्बन गर्दै आएका छन् ।

पछिल्लो केही बर्षयता इजरायल सहभागी कुनै पनि खेल अथवा ठूलो प्रतिस्पर्धामा इरान, अल्जेरिया र लेबनन लगायतका देशहरुका खेलाडीहरुले इजरायली प्रतिद्वन्दीको सामना गर्न अस्विकार गर्दै आएका छन् ।

यसै बर्ष बिश्व बिजेता सइद मोल्लाईले इजरायली प्रतिस्पर्धीबिरुद्धको फाइनलबाट बच्न २०१९ को बिश्व जुडो च्याम्पियनसिपको सेमिफाइनलमा पराजय व्यहोर्न निर्देशन आएको बताएपछि आइजेएफले इरानलाई चार बर्षको लागि निलम्बन गरेको थियो ।

नुरिनले पनि उक्त प्रतियोगितामा ताहरको सामना गर्नुको सट्टा आफूले खेलेको खेलमा हारिदिएका थिए ।

आइजेएफले अब नुरिन र उनका प्रशिक्षकबिरुद्ध अनुसन्धान गर्नेछ भने अबका खेलहरुका लागि कस्तो प्रकृतिको निलम्बन गर्ने भन्ने बिषयमा निर्णय लिनेछ ।

Click to comment

Trending