अन्तर्राष्ट्रिय

लगातार दोश्रो खेलमा जित निकाल्दै इंग्ल्यान्डद्वारा शृंखला माथि कब्जा 

Published

on

पहिलो खेलमा हारको सामना गरे पनि त्यस पछिका लगातार दुई खेलमा जित निकाले पछि घरेलु टोली इंग्ल्यान्डले पाकिस्तान विरुद्धको ट्वान्टी ट्वान्टी शृंखला माथि कब्जा जमाएको छ ।

दुई खेल पछि १-१ को अवस्थामा रहेको शृंखला अन्तर्गतको तेश्रो तथा अन्तिम खेलमा तीन विकेटको रोमान्चक जित हात पार्दै इंग्ल्यान्डले शृंखला आफ्नो पोल्टामा पारेको हो । पाहुना टोली पाकिस्तानले पहिलो खेलमा ३१ रनको जित हात पारे पनि दोश्रो खेलमा ४५ रनको हारको सामना गर्न पुगेको थियो ।

आजको खेलमा १५५ रनको मध्यम लक्ष्य पछ्याएको इंग्ल्यान्डले सात विकेट गुमाएर दुई बल अगावै जित निकाले पछि खेल र शृंखला दुबै आफ्नो पक्षमा पार्न पुग्यो ।  खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले छ विकेटको नोक्सानीमा १५४ रन मात्र जोड्न सक्यो ।

इंग्ल्यान्डको जितमा ओपनर जेसन रोयले आक्रामक पारी खेल्दै ३६ बलमा १२ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ६४ रन बनाए भने दाविद मलनले ३१ तथा ओपनर तथा विकेट किपर जस बटलर र कप्तान ओइन मोर्गनले समान २१-२१ रनको योगदान दिए ।

पाकिस्तानका मोहम्मद हफिजले सर्वाधिक तीन विकेट हात पारे ।

पाकिस्तानको तर्फबाट विकेट किपर तथा ओपनर मोहम्मद रिजवानले अविजित रहँदै ५७ बलमा सर्वाधिक ७६ रन बनाए भने फखार जमानले २४ तथा हसन अलिले अविजित १५ रनको पारी खेले ।

पाकिस्तानलाई मध्यम योगफलमा रोक्ने क्रममा आदिल रशिदले चार जना ब्याट्सम्यानलाई पेभेलियनको बाटो देखाए ।  

यस अघि पाकिस्तान विरुद्धको एकदिवसीय शृंखलामा इंग्ल्यान्डले ह्वाइट वास गरेको थियो ।  


  

 

Click to comment

Trending