अन्तर्राष्ट्रिय

चाहारको उत्कृष्ट ब्याटिङमा भारतको रोमान्चक जित, एक खेल अगावै शृंखला माथि कब्जा 

Published

on

आठौँ नम्बरमा ब्याटिङ गर्न आएका दिपक चाहारको उत्कृष्ट अर्धशतकको मद्दतमा भारतले घरेलु टोली श्रीलंका विरुद्धको दोश्रो एकदिवसीय खेलमा तीन विकेटको रोमान्चक जित हात पारेको छ । यस जितसँगै भारतले तीन खेलको शृंखलामा २-० को अग्रता लिँदै एक खेल अगावै शृंखला माथि कब्जा जमाउन पनि सफल भएको छ ।

जितका लागि २७६ रनको चुनौतिपूर्ण लक्ष्य सहित ब्याटिङमा आएको भारत एक समय ३५ दशमलब एक ओभरमा सात विकेट गुमाएर १९३ रन बनाउँदै हारको नजिक पुगेको अवस्थामा चाहारले उत्कृष्ट अर्धशतक प्रहार गर्दै जित सुनिश्चित गरे ।

एकदिवसीयमा आफ्नो पहिलो अर्धशतक प्रहार गरेका चाहारले ८२ बलको सामना गर्दै सात चौका र एक छक्काको मद्दतमा अविजित ६९ रन जोडे भने अविजित १९ रन बनाएका भुवनेश्वर कुमारसँग मिलेर आठौँ विकेटका लागि १४ ओभरमा ८४ रन जोड्दै भारतलाई जित दिलाए ।

चाहार बाहेक भारतको जितमा आफ्नो दोश्रो खेलमा अर्धशतक प्रहार गरेका सुर्यकुमार यादवले ४४ बलमा ५३, मनिष पाण्डेले ३७, कुर्नाल पान्ड्याले ३५ तथा कप्तान शिखर धवनले २९ रनको पारी खेले । भारतका अन्य ब्याट्सम्यानमा पृथ्वी श १३, अघिल्लो खेलमा डेब्यु गर्दै अर्धशतक प्रहार गरेका इशान किशान एक तथा हार्दिक पान्ड्या शून्य रनमा आउट भए ।

घातक बलिङ गरेका वानिन्दु हसरंगाले १० ओभरमा ३७ रन खर्चिएर भारतका तीन ब्याट्सम्यानलाई पेभेलियनको बाटो देखाए पनि अन्य बलरहरुले उनलाई साथ दिन नसक्दा श्रीलंकाले शृंखला गुमाउन बाध्य भयो ।  

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पुरै ५० ओभर खेल्दै नौ विकेटको नोक्सानीमा २७५ रनको चुनौतिपूर्ण योगफल तयार पार्यो । 

श्रीलंकाको तर्फबाट चरिथ असलंकाले ६८ बलमा सर्वाधिक ६५ रन बनाए भने ओपनर अभिस्का फर्नान्डोले पनि ७१ बलमा ५० रनको योगदान दिए । त्यस बाहेक ओपनर तथा विकेट किपर ब्याट्सम्यान मिनोद भानुकाले ३६, धनन्जय डि सिल्भाले ३२ रनको पारी खेले । 

एक समय १९४ रनमा छ विकेट गुमाएर सानो योगफलमा रोकिने अवस्थामा रहेको श्रीलंकाको लागि आठौँ नम्बरमा ब्याटिङ गर्न आएका चमिका करुनारत्नेले आक्रामक पारी खेल्दै ३३ बलमा पाँच चौकाको सहयोगमा अविजित ४४ रनको पारी खेल्दै चुनौतिपूर्ण योगफल सम्म डोर्याए ।

भारतका युज्बेन्द्र चाहाल र भुवनेश्वर कुमारले समान ३-३ विकेट हात पारे भने दिपक चाहारले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए । 


 

Click to comment

Trending