अन्तर्राष्ट्रिय

शकिब अल हसनको अलराउण्ड प्रदर्शनमा बंगलादेशलाई शृंखला 

Published

on

शकिब अल हसनले अलराउण्ड प्रदर्शन गरेसँगै बंगलादेशले घरेलु टोली जिम्बाब्वे विरुद्धको दोश्रो एकदिवसीय खेलमा तीन विकेटको रोमान्चक जित दर्ता गराएको छ । पहिलो एकदिवसीय खेलमा १५५ रनको फराकिलो जित दर्ता गराएको बंगलादेशले एक खेल अगावै तीन खेलको शृंखलामा २-० को अग्रता लिँदै शृंखला माथि कब्जा पनि जमाउन सफल भएको छ ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले पुरै ५० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा २४० रन बनायो भने जवाफी ब्याटिङ गरेको बंगलादेशले शकिबको अविजित अर्धशतकको मद्धतमा सात विकेट गुमाएर तीन बल अगावै लक्ष्य पार गर्यो ।

बलिङ तर्फ १० ओभर बलिङ गर्दै ४२ रन खर्चिएर दुई विकेट हात पारेका शकिबले बंगलादेशलाई शृंखला दिलाउने क्रममा ब्याटिङ तर्फ अविजित रहँदै ९६ रन बनाए । तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका शकिब शतक बनाउन चार रनले चुके पनि १०९ बल खेल्दै बंगलादेशको जित सुनिश्चित गरे ।

शकिब बाहेक बंगलादेशको जितमा नवौं नम्बरमा ब्याटिङ गर्न आएका मोहम्मद सैफुद्दीनले अविजित २८ रनको योगदान दिए । उनले खेलको म्यान अफ द म्याच घोषित शकिबसँग आठौं विकेटका लागि १० दशमलब चार ओभरमा ६९ रनको साझेदारी गरे ।

यस अघि शोरिफुल इस्लामले घातक बलिङ गर्दै चार विकेट लिए पछि बंगलादेशले जिम्बाब्वेलाई मध्यम योगफलमा रोक्न सफल भएको हो ।

जिम्बाब्वेको तर्फबाट वेस्ली माधेवेरेले सर्वाधिक ५६ तथा कप्तान ब्रेन्डन टेलरले ४६ रनको पारी खेले भने डियोन म्येर्सले ३४ तथा सिकन्दर राजाले ३० रनको योगदान दिए ।


 

Click to comment

Trending