Headline

लिभिंगस्टोनले आक्रमक शतक बनाएपनि इंगल्याण्ड पाकिस्तानसंग हार्यो

Published

on

लियम लिभिंगस्टोनले आक्रमक शतक प्रहार गरेपनि इंगल्याण्ड पाकिस्तानबिरुद्धको पहिलो ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा ३१ रनले पराजित भएको छ ।

ट्रेन्ट ब्रिजमा भएको हाई स्कोरिंग खेलमा पाकिस्तानले कप्तान बाबर आजमसंगै अन्य ब्याट्स्म्यानहरुको संयुक्त प्रदर्शनमा आफ्नो ट्वान्टी ट्वान्टी इतिहसकै सर्वाधिक योगफल खडा गर्दै ६ विकेटको क्षतिमा २ सय ३२ रन बनायो ।

जवाफमा लिभिंगस्टोनले इंगल्याण्डका लागि सबैभन्दा तिब्र गतिको शतक ठोकेपनि घरेलु टोली १९ दशमलव २ ओभरमा २ सय १ रनमा अल आउट हुन पुग्यो । ४२ बलमा शतक पुरा गरेका लिभिंग्स्टोनले९ छक्का र ६ चौका प्रहार गरेका थिए ।

उनी शतक पुरा गरेलगत्तै सदाब खानको बलमा १ सय ३ रन बनाउदै आउट भएका थिए । सदाब र शाहिन शाह अफ्रिदीले पाकिस्तानका लागि समान तीन विकेट लिएका थिए । ओपनर जेसन रोयले इंगल्याण्डका लागि ३२ रन बनाए भने अन्य ब्याट्स्म्यानहरुले उल्लेखनीय योगदान दिन सकेनन् ।

यसअघि बाबरले पहिलो विकेटका लागि मोहम्मद रिजवानसंग १ सय ५० रनको साझेदारी गर्दै ठोस शुरुवात दिलाएका थिए । बाबरले ४९ बलमा ८ चौका र तीन छक्का हिर्काउदै ८५ रन बनाए ।

रिजवानले ४१ बलमा ६३ बनाउने क्रममा ८ चौका र एक छक्का प्रहार गरे । पाकिस्तानको ठूलो योगफलमा फखर जमान (२६), मोहम्मद हफिज (२४) र शोएब मक्सुद (१९) को पनि उल्लेखनीय योगदान रहेको थियो ।

Click to comment

Trending