अन्तर्राष्ट्रिय

दक्षिण अफ्रिकालाई ट्वान्टी ट्वान्टी शृंखला 

Published

on

पाँचौं तथा अन्तिम ट्वान्टी ट्वान्टी खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई २५ रनले पराजित गर्दै दक्षिण अफ्रिकाले शृंखला माथि कब्जा जमाएको छ । २-२ को अवस्थामा रहेको शृंखलाको अन्तिम खेल जित्दै दक्षिण अफ्रिकाले ३-२ ले शृंखला माथि कब्जा जमाएको हो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा चार विकेट गुमाएर १६८ रनको चुनौतिपूर्ण योगफल बनायो । 

ओपनिङमा आएका कप्तान टेम्बा बवुमा पहिलो ओभरको तेश्रो बलमा नै रनको खाता पनि खोल्न नसकी आउट भए पनि अर्का ओपनर क्विन्टन डि कक र ऐडेन मार्क्रमले दोश्रो विकेटका लागि १२८ रन जोड्दै दक्षिण अफ्रिकाको पारी सम्हाले । खेलको म्यान अफ द म्याच घोषित मार्क्रमले ४८ बलमा सर्वाधिक ७० रन बनाए भने डि ककले ४२ बलमा ६० रनको पारी खेले । 

त्यस बाहेक अविजित रहेका डेविड मिलरवियान मुल्दरले क्रमश १८ र नौ रनको योगदान दिए । 

वेस्ट इन्डिजका फिडेल एडवार्ड्सले तीन ओभरमा १९ रन खर्चिएर सर्वाधिक दुई विकेट हात पारे ।

१६९ रनको लक्ष्य सहित ब्याटिङमा आएको वेस्ट इन्डिजका ओपनर एविन लेविसले अर्धशतकीय पारी खेले पनि अन्य ब्याट्सम्यानले राम्रो योगदान दिन नसक्दा पुरै २० ओभर खेल्दै नौ विकेटको नोक्सानीमा मात्र १४३ रन बनाउन सक्यो र शृंखला गुमायो ।

वेस्ट इन्डिजको तर्फबाट ओपनर लेविसले ३४ बलमा सर्वाधिक ५२ रन बनाए भने शिम्रोन हेटमायरले पनि ३३ रनको पारी खेले ।

वेस्ट इन्डिजलाई रोक्ने क्रममा दक्षिण अफ्रिकाका लुंगी एनगिदीले सर्वाधिक तीन तथा कागिसो रबाडावियान मुल्दरले समान २-२ विकेट हात पारे ।         


 

Click to comment

Trending