Headline

एक वर्षको लामो कसरत पछि सान्चो युनाइटेड जाने पक्का

Published

on

जेडन सान्चोका लागि म्यानचेस्टर युनाइटेडले गरेको ७२.९ मिलियन पाउण्डको प्रस्ताव बोरुसिया डर्ट्मण्डले स्विकारेको छ ।

युनाइटेडले गत वर्ष पनि सान्चोलाई भित्र्याउन ठुलै कसरत गरेको थियो । तर दुई क्लब बीच पैसाको कुरा नमिल्दा युनाइटेड विफल भएको थियो । यस सिजन पनि प्रशिक्षक ओले गुनर सोल्सायरले उनलाई आफ्नो क्लबमा आबद्ध गराउने लक्ष्य राखेका थिए । सोल्सायर इंग्ल्यान्डका २१ वर्षीय सान्चोलाई भित्राउँदै युनाइटेडको राइट विङ बलियो बनाउने चाहना अन्तत: पुरा हुने भएको हो ।

म्यानचेस्टर सिटी एकेडेमीका खेलाडी सान्चो १८ वर्षको उमेरमै डर्ट्मण्ड पुगेका थिए । युनाइटेडका लागि सान्चो आउने सिजन निकै महत्वपूर्ण खेलाडी हुन सक्नेछन् । सान्चोसँग यस अघि नै व्यक्तिगत सम्झौता गरिसकेको युनाइटेडले डर्ट्मण्डसँग ‘ट्रान्सफर फि’ भने वुधबार राती मात्रै सम्झौता गरेको थिए ।

सान्चोलाई भने युनाइटेडले पाँच वर्षका लागि क्लबमा सम्झौता दिएको छ । सन् २०२०-२१ को सिजनमा सान्चोले डर्टमण्डको लागि कुल ३८ खेल खेल्दै १६ गोल र २० असिस्ट गरेका थिए ।

गत सिजनको प्रिमियर लिगमा युनाइटेड दोश्रो स्थानमा चित्त बुझाउन बाध्य भएको थियो । दोश्रो स्थानमा रहेको युनाइटेड पहिलो स्थानको म्यानचेस्टर सिटी भन्दा १२ अंकले पछि रहेको थियो । सोल्सायरले यस सिजन प्रिमियर लिगको उपाधि उठाउने लक्ष्य सहित टोलीमा नयाँ अनुहार भित्राउन चाहेका थिए ।

दुई क्लब बिच सबै सम्झौता भैसकेको अवस्थामा युनाइटेडले अधिकारिक घोषणा मात्रै गर्न बाँकी रहेको छ ।

Click to comment

Trending