अन्तर्राष्ट्रिय

दक्षिण अफ्रिकाको सनसनीपूर्ण जित 

Published

on

दक्षिण अफ्रिकाले घरेलु टोली वेस्ट इन्डिज विरुद्धको तेश्रो ट्वान्टी ट्वान्टी खेलमा एक रनको सनसनीपूर्ण जित दर्ता गराएको छ । 

यस जितसँगै दक्षिण अफ्रिकाले पाँच खेलको शृंखलामा २-१ को अग्रता पनि लिन सफल भएको छ । पहिलो खेलमा आठ विकेटको सहज जित दर्ता गराएको वेस्ट इन्डिज दोश्रो खेलमा १६ रनले पराजित हुन पुगेको थियो ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १६७ रनको चुनौतिपूर्ण योगफल तयार पार्यो भने जबाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा सात विकेट गुमाएर १६६ रन मात्र जोड्न सक्यो ।

वेस्ट इन्डिजलाई रोक्ने क्रममा निकै किफायती बलिङ गरेका तब्रिज शाम्सीले चार ओभर बलिङ गर्दै मात्र १३ रन खर्चिएर दुई विकेट हात पारे भने एनरिच नोर्किएले पनि दुई विकेट नै आफ्नो नाममा दर्ता गराए ।

वेस्ट इन्डिजका ओपनर एविन लेविसले सर्वाधिक २७, निकोलस पुरणले २६, आन्द्रे रसेलले २५ तथा लेन्ड्ल सिमोन्सले २२ रन जोडे पनि हार भने टार्न सकेन ।

वेस्ट इन्डिजलाई अन्तिम दुई ओभरमा जितका लागि १९ रन आवस्यक रहेको अवस्थामा १९ औ ओभर लिएर आएका नोर्किएले एक विकेट सहित मात्र चार रन खर्चंदा अन्तिम ओभरमा १५ रन आवश्यक रह्यो । फाबियन एलेनले अन्तिम ओभरमा एक चौका र एक छक्का सहित १३ रन मात्र जोड्न सक्दा घरेलु टोली एक रनले हारको सामना गर्न पुग्यो ।  

यस अघि दक्षिण अफ्रिका विकेट किपर तथा ओपनर क्विन्टन डि ककले ५१ बलको सामना गर्दै सर्वाधिक ७२ रनको पारी खेले भने रस्सी भान डर डुस्सेनले ३२ तथा ऐडेन मार्क्रमले २३ रनको योगदान दिए ।

वेस्ट इन्डिजका ओबेड म्याकोयले चार ओभरमा २२ रन खर्चिएर सर्वाधिक चार विकेट हात पारे भने ड्वायन ब्राभोले चार ओभरमा २५ रन दिएर तीन विकेट आफ्नो नाममा दर्ता गराए ।          

 

Click to comment

Trending